काठमाडौँ — उज्वेकिस्तानको तास्कन्दमा हुने २१औं एकेएफ सिनियर एसियन सिनियर कराते च्याम्पियनसिपमा भाग लिने नेपालका ११ खेलाडी मंगलबार त्यसतर्फ गएका छन् । यही जेठ ९ देखि ११ सम्म हुने च्याम्पियनसिपमा अघिल्लो संस्करणकी रजत विजेता एरिका गुरुङसहितका खेलाडी उज्वेकिस्तानतर्फ प्रस्थान गरेका हुन् ।
गत वर्ष हाङचाउमा भएको २० औं संस्करणमा एरिकाले रजत जितेकी थिइन् । एसियन च्याम्पियनसिप इतिहासमा नेपालका लागि उनले पहिलो रजत दिलाएकी हुन् । उनी फाइनलमा भियतनामी खेलाडी न्योगन थी गुएनसँग पराजित भएर रजतमै सीमित भएकी हुन् ।
भाग लिने अन्य खेलाडीमा सोनिम मानन्धर, साजन मोक्तान, मीनबहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद शेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अञ्जली महर्जन, सविना श्रेष्ठ र निरुपा दोङ तामाङ छन् ।
मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ, प्रशिक्षकमा मन्डेकाजी श्रेष्ठ र टिम म्यानेजरमा किशोर भट्टराई रहेका छन् । कराते टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।
