पीडालाई शक्तिमा बदल्ने सिटीको दाउ

जेष्ठ ६, २०८२

एएफपी

City's stake in turning pain into power

What you should know

लन्डन — एफए कप फुटबलको फाइनलमा बेहोरेको हारले दिएको पीडालाई शक्तिमा बदल्न पेप ग्वार्डिओलाले आफ्ना म्यानचेस्टर सिटीका खेलाडीलाई सल्लाह दिएका छन् । उनी चाहन्छन्, त्यो शक्ति इंग्लिस प्रिमियर लिगको शीर्ष पाँचमा रहेर अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन पर्याप्त रहोस् ।

वेम्बलीमा शनिबार भएको फाइनलमा क्रिस्टल प्यालेससँग पराजित भएपछि सिटी आठ वर्षयता पहिलो पटक अविश्वसनीय रूपमा उपाधिविहीन रह्यो । एबेरेची इजीले १६ औं मिनेटमा गरेको निर्णायक गोलसँगै ओमर मारमोसको पेनाल्टी डिन हेन्डरसनले बचाएपछि सिटीको खराब सिजन कायम रहेको थियो । हेन्डरसनले सिटीलाई निराश पार्दै शृंखलाबद्ध बचाउ गरे । सिटीलाई लागेको थियो, पहिलो हाफमै आफ्नो पेनाल्टी एरिया बाहिर बल हातले नियन्त्रण गरेका हुनाले हेन्डरसनलाई रातो कार्ड दिनुपर्थ्यो । त्यसपछि प्यालेसले तेर्स्याएको कडा सुरक्षात्मक चक्रलाई सिटीले तोड्न सकेन ।

‘जतिबेला विपक्षीका ११ खेलाडी रक्षात्मक हुन्छन्, त्यतिबेला गोल गर्नु साँच्चै गाह्रो नै हुने गर्छ,’ ग्वार्डिओला मान्छन् । डिफेन्डिङ च्याम्पियनका रूपमा सिटीले लिग उपाधि लिभरपुललाई सुम्पेको थियो भने च्याम्पियन्स लिगबाट पनि चाँडै बाहिरिएको थियो । स्पेनी प्रशिक्षक ग्वार्डिओला के मान्छन् भने प्रिमियर लिगलाई शीर्ष पाँचमा रहेर टुंग्याउन सकिन्छ भने कम्तीमा त्यो राहत हुनेछ । अहिलेका लागि सिटी प्रिमियर लिगको छैटौं स्थानमा छ । यो शीर्ष पाँचबाट एक अंकको दूरी हो ।

सिटीले मंगलबार बर्नमाउथको सामना गर्नेछ । त्यसपछि सिजनको अन्तिम खेलका लागि फुलहमको भ्रमणमा निस्कने छ । ग्वार्डिओला भन्छन्, ‘गत महिना हामीले टिममा रहेको धेरै समस्या समाधान गरेका छौं । त्यस अगाडि हामी गोल पनि गर्थ्यौ र गोल खान्थ्यौं । अहिले हाम्रो प्रदर्शन समान छ । तर प्यालेस मात्र होइन, लिगमा साउथह्याम्पटनविरुद्धको खेलमा हामीले पर्याप्त अवसरसमेत सिर्जना गर्न सकेनौं । म के भन्दिनँ भने यो काम सजिलो छ ।’

‘तर हामीलाई राम्रो क्रम पनि उत्तिकै चाहिन्छ, बक्सभित्र चनाखो रहने उत्कृष्ट खेलाडी पनि आवश्यक हुन्छ,’ उनी थप्छन्, ‘हाम्रो खेल योजना सफल रहेन, किनभने हामी प्यालेसविरुद्ध विजयी रहेनौं । तर पूरा खेललाई लिएर मभित्र कुनै खराब भाव छैन । हामी किन दुःखी छौं भने हामीले एउटा राम्रो खेल जित्न सकेनौं । हामीले हरेस खानु हुन्न र हाम्रो खेल जारी राख्नुपर्छ । अब लिगमा बाँकी रहेका दुई खेलका लागि हामीले आफूलाई तयार पार्नुपर्छ । हाम्रो उद्देश्य अर्को सिजनको च्याम्पियन्स लिग खेल्नु नै हुनुपर्नेछ ।’

सिटी एफए कपको फाइनलमा पराजित भएको यो लगातार दोस्रोपल्ट हो । गत सिजन सिटी छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडको हातबाट पराजित भएको थियो । प्यालेसविरुद्ध पनि सिटीका स्ट्राइकर इर्लिङ हालान्ड पेनाल्टी प्रहारमा पछाडि हट्नुले नर्वेली खेलाडी अहिले कमजोर आत्मविश्वासबाट गुज्रिरहेको दर्शाउँछ । सिटीका लागि आफूले खेलेका पछिल्ला ६ खेलमा हालान्ड गोल गर्न असफल छन् । त्यसमा तीन एफए कप फाइनल र एक सेमिफाइनल रहेको छ ।

यो सिजन बोरुसिया डर्टमन्डका पूर्वखेलाडीले ४२ खेलमा ३० गोल गरेका छन् । उनी इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा गोल गर्न चुकेका थिए । यस्तै सेभियाविरुद्धको यूईएफए सुपर कप जितमा पनि उनीबाट गोल निस्केको थिएन । यसपल्ट प्यालेसले पनि हालान्डलाई कडा नियन्त्रणमा राखेको थियो । यसै कारण उनले स्पष्ट राम्रा अवसर बनाउन सकेनन् । तर सिटीलाई शीर्ष पाँचमा राख्ने हो भने ग्वार्डिओलाले यो समस्याको समाधान निकाल्नुपर्ने हुन्छ । वेम्बलीको त्यस खेलमा केभिन डी ब्रुएना पनि कमजोर नै रहे । सिटी छाड्नु अगाडिको अन्तिम खेलमा बेल्जियन मिडफिल्डरको प्रदर्शन उतारचढावपूर्ण रह्यो । यसै कारण ग्वार्डिओलाले उनलाई क्लबमा राख्न नखोज्नु राम्रै निर्णय रहेको प्रस्ट भएको छ । सम्भवतः लगातारको चोट र बढ्दो उमेरका कारण अब ब्रुएना पहिलाको जस्तो खेलाडी रहेनन् । ग्वार्डिओला भन्छन्, ‘हामीले ब्रुएनाबाट धेरै अपेक्षा गरेका थियौ तर दुर्भाग्यले त्यो पूरा भएन ।’

एएफपी

Link copied successfully