मनिषाले लिइन् मत्त्वपूर्ण चार विकेट
काठमाडौँ — आईसीसी टी–२० महिला विश्वकपको एसिया क्षेत्र छनोटमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनको स्कोर बनायो ।
यूएईका लागि इसा रोहित ओजाले सर्वाधिक ३९ रन बनाइन् । यस्तै त्रीथा सतिशले २१, हीना हरिस होट्चन्दानीले २० र लाभण्या केनीले १२ रन बनाइन् ।
नेपालका लागि मनिषा उपाध्याले सर्वाधिक चार विकेट लिइन् । चार ओभरमा २० रन खर्चिँदै उनले चार विकेट लिएकी हुन् । यस्तै कविता कुँवर दुई र राजमती ऐरीले एक विकेट लिए ।
आज नेपाललाई खेल जित्नै पर्ने दबाब छ । ग्लोबल छनोटमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नै पर्ने छ । एसिया छनोटको ‘सुपर थ्री’मा आइतबार युएईलाई ५४ रनले पराजित गर्दै थाइल्यान्डले ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । थाइल्यान्डले आठ अंक पुर्याएको छ ।
नेपालको पाँच र यूएईको ६ अंक छ । युएईमाथि जित हासिल गरे नेपाल पनि ग्लोबलमा पुग्नेछ । पराजित भए प्रतियोगिताबाट बाहिरिने छ ।
थाइल्यान्ड समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै ‘सुपर थ्री’मा प्रवेश गरेको हो । युएई समूह ‘बी’ र नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा रहेका थिए । समूह चरणमा हासिल गरेको अंक नै ‘सुपर थ्री’ मा जोडिने प्रावधान छ ।
सोही अनुसार नेपालले पाँच अंकसहित ‘सुपर थ्री’को अंक तालिकामा पुछारमा रहेको थियो ।
