साहित्यकार कुन्ता शर्मालाई सम्मान

जेष्ठ ४, २०८२

डम्बरसिं राई

Tribute to writer Kunta Sharma

खोटाङ — दिक्तेलमा आयोजित साहित्यिक महोत्सवको अवसरमा साहित्यकार कुन्ता शर्मालाई सम्मान गरिएको छ । 

साहित्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ११ हजार ११ सय ११ रूपैयाँ नगदसहित दोसल्ला ओढाएर आइतबार सम्मान गरिएको हो । दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको अवसरमा शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले सम्मान गरेका हुन् ।

त्यस्तै खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङलाई समेत ११ हजार १ सय ११ रूपैयाँ नगदसहित, दोसल्ला ओढाएर सम्मान गरिएको नेपाल खेलकुद प्रतिष्ठानका सचिव मिलन कसजुले बताए ।

प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव सुवेदीको प्रमुख आतिथ्यतामा तथा कविता राईको अध्यक्षतामा भएको कार्यक्रममा कुन्ता शर्मा, प्राज्ञ बाबा बस्नेत, प्राज्ञ डा. कौशिला रिसाल, लक्ष्मी माली, डा.यादेवी ढकाल, प्रदीप रोदन, रीता खत्री, उर्मिला डंगोल, कमला प्रधान, भोला ढकाल, आस्था कोपिला, किरण सिवा, संग्राम राई, इन्द्र नारथुङेलगायत जिल्ला तथा जिल्ला बाहिरका साहित्यकारहरूले सिर्जना सुनाएका थिए ।  

वैशाख २७ गते सुरु महोत्सवको अवसरमा विभिन्न इभेन्टका दौड, टेबलटेनिस, बुद्धिचाल प्रतियोगितालगायत गरिएको थियो ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully