आफ्नो १ सय १९ वर्ष लामो इतिहासमा प्यालेसलाई पहिलो उपाधि
लन्डन — क्रिस्टल प्यालेसले इबेरची इजेले पहिलो हाफमा गरेको एक मात्र गोलको मदतले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै शनिबार एफएकपको उपाधि जितेको छ । प्यालेसले आफ्नो १ सय १९ वर्ष लामो इतिहासमा इंग्लिस घरेलु फुटबलको सबैभन्दा ठूलो कप उपाधि जितेको यो नै पहिलो पटक हो ।
यसअघि प्यालेस दुईपल्ट एफएकपको उप–विजेतामै सीमित रहेको थियो । वेम्बलीमा भएको यसपल्टको फाइनलमा इजेले १६ औं मिनेटमा गरेको गोल उपाधिको छिनोफानोका लागि पर्याप्त रह्यो । हारले यो सिजन पेप ग्वार्डिओलाको सिटी उपाधिविहीन भएका छन् । गत वर्ष पनि सिटी एफए कपको फाइनलमा पराजित भएको थियो ।
प्यालेसको जितमा उत्कृष्ट बचाउ गरेका गोलरक्षक डिन हेन्डरसनको पनि महत्त्वपूर्ण योगदान रह्यो । उनले पहिलो हाफमै मउरम मासआउनको पेनाल्टीलाई गोल हुन दिएका दिएनन् । यस्तै दोस्रो हाफमा ड्यानिएल मुनेजको गोलले मान्यता पाएन् । ‘भीएआर’ ले त्यसमा अफ–साइडको निर्णय दिएको थियो ।
त्यस अगाडि इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति भएका खेलमा चेल्सी र एस्टन भिल्लाले महत्त्वपूर्ण जित हात पारेका छन् । चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो र यससँगै चौथो स्थानमा उक्लिन सफल रह्यो । यो जितपछि चेल्सीको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने समीकरण उसकै हातमा आएको छ ।
खेलको निर्णायक गोल मार्क कुकुरेयाको नाममा रह्यो । अर्को साता युरोपा लिगको फाइनल खेल्न लागेको युनाइटेडको यो सिजनको १८ औं लिग हार हो । खराब लयमा रहेको युनाइटेड ३९ अंकमा १६ औं स्थानमा छ । युरोपा लिगको फाइनलमा उसको प्रतिद्वन्द्वी टोटनहम भने एस्टन भिल्लाको हातबाट २–० ले पराजित रह्यो ।
टोटनहम ३८ अंकमा युनाइटेडको पछाडि १७ औं स्थानमा रहेको छ । जितले भिल्ला अंक तालिकाको पाँचौं स्थानमा उक्लिन सफल रह्यो । भिल्ला पार्कमा भएको खेलमा इजरी कोन्सा र बाकबाकर कमाराले एक एक गोल गरे । तर यो जितका बावजुत भिल्लाले च्याम्पियन्स लिगमा छनोट हुने टुंगो लगाउन अन्तिम दिनसम्म कुर्नु पर्नेछ ।
