डम्बर धामी स्मृति टी–१० क्रिकेट आइतबारदेखि

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

Dumbar Dhami Memorial T-10 Cricket from Sunday

काठमाडौँ — डम्बर धामी स्मृति टी–१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । तीन विश्वविद्यालयका १२ कलेजका टिमको सहभागिता रहने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

जेठ ८ गतेसम्म हुने यस प्रतियोगितामा १२ टिमलाई ४ समूहमा विभाजन गरी लिग चरणअन्तर्गत १ दिनमा ३ देखि ४ खेल खेलाइनेछ । विजेताले ३५ र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । टिम दर्ता शुल्क १५ हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ । प्रतियोगिता अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा डम्बर धामीको स्मृतिमा खेलाइँदै छ । डडेलधुराका धामी गत साल मंसिरमा जिप दुर्घटनामा घाइते भई उपचारका क्रममा निधन भएको थियो । उनी हिस्ट इन्जिनियर कलेजबाट आफ्नो इन्जिनियरको पढाइ सकाएको केही समयपछि दुर्घटनामा परेका थिए । 

समूह ‘ए’ मा हिस्ट इन्जिनियरिङ कलेज, कान्तिपुर इन्टरनेसनल कलेज र एक्मे इन्जिनियरिङ, समूह ‘बी’ मा हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज, जियोम्याटिक इन्स्टिच्युट अफ टेक्नोलोजी र कोसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी छन् । समूह ‘सी’ मा कान्तिपुर सिटी कलेज, कलेज अफ आईटी एन्ड इन्जिनियरिङ र हिलसाइड कलेज अफ इन्जिनियरिङ तथा समूह ‘डी’ मा कान्तिपुर इन्जिनियरिङ कलेज, पशुपति मल्टिपल क्याम्पस र रत्न राज्यलक्ष्मी क्याम्पस छन् ।

पहिलो दिन हिस्टविरुद्ध कान्तिपुर इन्टरनेसनल कलेज, कान्तिपुर सिटी कलेज र हिलसाइड तथा कान्तिपुर इन्जिनियरिङ कलेजले पशुपति क्याम्पसको सामना गर्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully