पाल्पा — अन्तरपालिका फुटबल उपाधि पाल्पाको रामपुर नगरपालिकाले हात पारेको छ । माथागढी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयोजक माथागढी गाउँपालिकालाई १–० गोलले पछि पार्दै रामपुरले उपाधि जितेको हो ।
रामपुर नगरपालिकाका तर्फबाट खेल सुरु भएको ९ मिनेटमा गौरव पराजुलीले गरेको गोल नै निर्णायक बन्यो । रामपुरले प्रतियोगितामा विजेता भएसँगै एक लाख नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल पाएको छ । उपविजेता बनेको माथागढीले ७५ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल पाएको छ ।
तानसेन नगरपालिकालाई ३–१ ले हराएर तिनाउ गाउँपालिका तेस्रो भएसँगै ५० हजारसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको खेल संयोजक तेजबहादुर घर्तीमगरले बताए ।
विजेता खेलाडी तथा टिमलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीलगायतले नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरे ।
