रोहित र कोहलीको संन्यासले भारतीय क्रिकेट अन्योलतर्फ

‘सम्भवतः गिल नै नयाँ कप्तान हुन सक्छन्, तर विदेशी भूमिमा उनको प्रदर्शन राम्रो छैन’

जेष्ठ १, २०८२

एएफपी

Rohit and Kohli's retirement sends Indian cricket into confusion

नयाँ दिल्ली — जति बेला भारतीय छनोटकर्ताले इंग्ल्यान्ड भ्रमणमा निस्कने क्रिकेट टिमको घोषणा गर्नेछन्, त्यसमा एक दशकयता पहिलो पटक दुई सफलत्तम खेलाडी विराट कोहली र रोहित शर्मा हुने छैनन् । यससँगै सुरु हुनेछ, भारतीय क्रिकेटको अनिश्चित भविष्य । 

पछिल्लो साता अब्बल ब्याटर कोहली र कप्तान शर्माले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरे । त्यसको अर्थ इंग्ल्यान्ड जाने भारतीय टिम नयाँ जस्तै हुनेछ । अनि शुवमन गिल कप्तानका लागि बलियो प्रत्याशी रहनेछन् । गत वर्ष मात्रै भेट्रान बलर रविचन्द्रन आश्विनले पनि संन्यास लिएका थिए । यस्तोमा इंग्ल्यान्ड जाने भारतीय टिम मेरुदण्डबिनाकै जस्तो हुनेछ । 

त्यति बेला भारत नम्बर १ टेस्ट टिम थियो । भारतले जुन २० देखि इंग्ल्यान्डमा सुरु हुने पाँच टेस्टको शृंखला खेल्दै छ । त्यसको पहिलो खेल हेडिङ्लेमा हुनेछ र यो भारतीय पुनर्निर्माण प्रक्रियाको पहिलो महत्त्वपूर्ण पाइला सावित हुनेछ । क्रिकेट पत्रकार अजय मेनन भन्छन्, ‘सम्भवतः गिल नै नयाँ कप्तान हुन सक्छन् । तर विदेशमा उनको प्रदर्शन राम्रो छैन ।’ 

गिलले अहिलेसम्म भारतका लागि ३२ टेस्ट खेलिसकेका छन् र त्यसमा ३५.०५ को औसतले १ हजार ८ सय ९३ रन बनाएका छन् । त्यसमा पाँच शतक सामेल छ । उनले विदेशी भूमिमा खेलेका टेस्टको संख्या १३ रहेको छ र त्यसको उनको औसत २९.५० मात्रै रहेको छ । हुन सक्छ, गिलले इनिङ्सको सुरुआत गर्नेछन् ।

उनलाई त्यहाँ २३ वर्षीय खेलाडी यशस्वी जयसवालले साथ दिनेछन् । त्यसपछि कडा प्रहारका लागि माहिर श्रेयस अयरको स्थान पाउने छन् र उनी नै कोहलीको विकल्प मानिएको छ । कोहलीको स्थान पूरा गर्नु असम्भव नै मानिए तापनि त्यसको विकल्पमा सरफराज खान, रजत पातिदार र ध्रुव जुरेललाई पनि मानिएको छ । विकेटकिपर ब्याटर ऋषव पन्तलाई पनि भविष्यका कप्तानका रूपमा हेरिएको छ । उनी आफै पनि खराब लयबाट गुज्रिरहेका छन् ।

त्यति मात्र नभएर इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्सका लागि उनको कप्तानी फिक्का मानिएको छ । अस्ट्रेलिया भ्रमणमा जाँदा शर्माका उप–कप्तान जसप्रित बुमराह थिए र उनले टेस्टमा नेतृत्व पनि गरे । त्यसमध्येमा एकमा भारत विजयी पनि रहेको थियो । उनी पनि कप्तानका लागि बलियो प्रत्याशी हुन् । चोटबाट मुक्त हुँदै उनी भर्खरै मात्र मैदानमा आएका छन् ।

जनवरीमा सिड्नीमा भएको टेस्टकै क्रममा उनी घाइत भएका थिए । इंग्ल्यान्डमा हुने पाँच टेस्टको शृंखला छ साता चल्नेछ । त्यसको अर्थ भारतले आफ्ना बलरलाई धेरै बोझ नहोस् भनेर एक दुई टेस्टको बीचमा आराम पनि दिनुपर्नेछ । त्यसैले बुमराह कप्तानका लागि राम्रो विकल्प नहुन सक्छ ।

पत्रकार मेनन कोहलीको टेस्ट संन्यासलाई भारतीय क्रिकेटकै एक महत्त्वपूर्ण मोड मान्छन् । तर उनी के पनि मान्छन् भने अहिले भारतीय क्रिकेट कति धेरै बलियो छ भने कोही न कोही विकल्प खेलाडी निस्कने नै छन् ।

‘अहिले पनि टिममा केही सिनियर खेलाडी छन्, जस्तो, मोहमद सामी र रवीन्द्र जडेजा । नयाँ खेलाडी पनि अगाडि आइरहेका छन्, जस्तो जयसवाल, गिल, पन्त । सायद प्रसिद्ध कृष्ण र मोहमद सिराज पनि उत्तिकै राम्रा छन् । आश्विनको स्थानमा वासिङटन सुन्दर पनि राम्रो विकल्प हुनेछन्,’ मेनन भन्छन् ।

सन् २०१५ मा कोहली कप्तान हुँदा प्रमुख छनोटकर्ता रहेको सन्दीप पाटिल मान्छन्, ‘कोहली र शर्मा भारतीय टिमका दुई खम्बा थिए । उनीहरू नरहेपछि अब भारतीय टिम पुनर्निर्माणबाट गुज्रिनेछ र यो चुनौती रहनेछ ।’ 

एएफपी

Link copied successfully