काठमाडौँ — सहिद स्मारक लिग ‘बी’ डिभिजनमा बुधबार ११ औं चरणका खेल समाप्त हुँदा टोखाको श्री भगवती अझै अपराजित छ र २३ अंकमा दोस्रो स्थानमा छ । प्लानिङ ब्वाइजपछि ‘ए’ डिभिजनमा उक्लने टिम बाटोमै छ, श्री भगवती ।
तर अझै ढुक्क भने हुन सकेको छैन र उसलाई बढुवा खान अन्तिम १३ औं चरणसम्म कुर्नुपर्ने हुन सक्नेछ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीलाई मध्यपुर युथ एसोसियसनले १–१ को बराबरी रोकेपछि यो स्थिति तयार भएको हो । यसअघि ब्वाइज युनियनले दिनको पहिलो खेलमा श्री कुमारीमाथि ५–३ को जित रच्यो । यो नतिजापछि ब्वाइज युनियन १९ अंकमा तेस्रो स्थानमा रह्यो ।
त्यसको अर्थ श्री भगवतीलाई ब्वाइज युनियनमाथि चार अंकको मात्र अग्रता छ । संयोगले १२ औं चरणमा श्री भगवती र ब्वाइज युनियन नै भिड्दै छन् र यही नतिजाले माथि उक्लने टिमको निर्णयको आधार तयार पार्न सक्नेछ । यो खेल मंगलबार परेको छ । प्लानिङ ब्वाइजले भने अब नयाँ बस्तीको सामना गर्नेछ र यही चरणमा च्याम्पियन हुने अवसर पनि हुन सक्नेछ ।
कम्तीमा शीर्ष दुईमा रहेर बढुवा भइसकेको प्लानिङ ब्वाइजको २७ अंक छ । प्लानिङ ब्वाइज र श्री भगवती नै अहिलेसम्म अपराजित दुई टिम हुन् । श्री भगवतीले १९ औं मिनेटमा विक्रान्त नरसिंह राणाको गोलले अग्रता लिएको थियो । मध्यपुरका लागि सुशील केसीले ६१ औं मिनेटमा बराबरी गोल फर्काए ।
मध्यपुर १२ अंकमा रहेको छ । त्यस अगाडि ब्वाइज युनियनका लागि दिब्यदेव चौधरीले दुई गोल गरे भने बाँकी गोल सुजित बुढाथोकी, विनोद राई र सुसन लामाको नाममा रह्यो । श्री कुमारीका पाल्देन तामाङले पेनाल्टीबाट पहिलो गोल गरेपछि अरुण शाह र यमन महर्जनले १–१ गोल फर्काए । उसको १२ अंक छ ।
