आईपीएल स्थगित भएपछि आ–आफ्नो देश फर्किएका सबै विदेशी खेलाडी फेरि खेल्न आउनेमा शंका
नयाँ दिल्ली — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेल मे १७ देखि जुन ३ सम्म हुने घोषणा भएपछि चहलपहल सुरु भएको छ । ती खेल छ स्थानमा हुने भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले जनाएको छ । भारत र पाकिस्तानबीचको तनावको गम्भीर स्थितिबीच गत साता प्रतियोगिता रोकिएको थियो ।
दुई देशबीच युद्ध विरामको सहमतिपछि भने भारतले बाँकी १७ खेल सुरु गर्ने निर्णय गरेको हो । बीसीसीआईले विज्ञप्तिमा भनेको छ, ‘सरकार, सुरक्षा निकाय र सबै सम्बन्धित निकायसँग गहन छलफलपछि प्रतियोगिता फेरि सुरु गर्ने निर्णय भएको हो ।’
रोयल च्यालेन्जर बेंगलुरुले अब शनिबार हुने खेलमा डिफेनिडङ च्याम्पियन कोलकता नाइटराइडर्सको गर्ने आथित्यसँगै प्रतियोगिता सुचारु हुनेछ भने लगतै आइतबार दुई खेल हुनेछन् । बाँकी खेल हुने अन्य सहरमा जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदावाद रहेका छन् । फाइनलसँगै प्ले–अफका चार खेल हुने स्थानको निर्णय भने पछि हुनेछ ।
यसअघिको निर्धारित कार्यक्रमअनुसार प्ले–अफ हैदरावाद र कोलकातामा हुनुपर्ने थियो । त्यसमध्ये फाइनल इडेन गार्डेनमा हुने तय थियो । अब पहिलो क्वालिफायर मे २९ मा हुनेछ भने इलिमिनेटर त्यसको एक दिन पछि हुनेछ । यस्तै दोस्रो क्वालिफायर जुन १ मा हुनेछ । फाइनल त्यसको दुई दिनपछि हुनेछ । आणविक हतियार भएका दुई देशले शनिबार मात्रै आक्रमण रोक्ने निर्णय गरेका थिए । पछिल्लो शुक्रबार प्रतियोगिता एक साताका लागि रोकिएको थियो ।
धर्मशालामा पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि हुन सकेको थिएन । धर्मशाला उत्तरी सहर जम्मुबाट दुई सय किलोमिटर टाढा रहेको छ । जम्मुमा भने खेल सुरु हुन एक घण्टा अगाडि विस्फोटहरू भएका थिए । त्यस खेलमा संलग्न रहेका खेलाडीलाई विशेषतः ट्रेनबाट दिल्ली फिर्ता बोलाइएको थियो । विदेशी खेलाडी शनिबार नै घर फर्केका थिए । सन् १९४७ यता कश्मीरलाई लिएर भारत र पाकिस्तानी तीनपल्ट युद्धमा होमिसकेका छन् ।
यसैबीच क्रिकेट अस्ट्रेलियाले मंगलबार आफ्ना खेलाडीलाई प्रतियोगिता खेल्ने अथवा नखेल्ने निर्णय गर्न स्वतन्त्रता दिएको छ र उसले खेलाडीको निर्णयको समर्थन पनि गर्ने भनेको छ । क्रिकेट अस्ट्रेलियाले भनेको छ, ‘आईपीएल फेरि सुरु हुने निर्णय भएपछि खेलाडीले भारत फर्कन अथवा नफर्कन गर्ने व्यक्तिगत निर्णयमा हाम्रो समर्थन रहनेछ ।’ आईपीएल जुन ३ सम्म चल्ने भएपछि विश्व टेस्ट च्याम्पिनयसिपको तयारी पनि प्रभावित हुने भएको छ ।
जुन ११ मा हुने फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्दै छ । अहिले आईपीएल खेलिरहेका खेलाडीमध्ये कप्तान प्याट कमिन्स, मिचेल स्टार्क, जोस हेजलउड र ट्रेभिस जोन्स विश्व टेस्ट च्याम्पियनसिपको फाइनल र वेस्ट इन्डिज भ्रमणका लागि घोषित दुवै टिममा परेका छन् । हेजलउड चोटका कारण देखाई भारत फर्किने स्थितिमा नरहेको बताइसकेका छन् । क्रिकेट अस्ट्रेलियाको भनाइ रहेको छ, ‘हामी सुरक्षा व्यवस्थालाई लिएर अस्ट्रेलियाली सरकार र बीसीसीआईको बोर्डसँग लगातार सम्पर्कमा छौं ।’
यस्तै इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध सुरु हुने एकदिवसीय शृंखलाका लागि कप्तान जस बटलरसहित आईपीएल खेलिरहेका पाँच खेलाडीलाई मंगलबार टिममा सामेल गरेका छन् । इंग्ल्यान्डले ती खेलाडीलाई आईपीएल खेल्नबाट रोक्ने सम्भावनालाई पनि अस्वीकार गरेको छैन । इंग्ल्यान्डले मे २९ देखि जुन ३ बीच तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै छ । आईपीएल खेलिरहेका अन्य इंग्लिस खेलाडीमा विल ज्याक, ज्याकेब बेथहेल, जोफ्रा आर्चर र जेमी ओभरटन रहेका छन् ।
पीएसएल शनिबारदेखि
पाकिस्तानी सुपर लिग (पीएसएल) पनि शनिबारदेखि फेरि सुरु हुने भएको छ र अस्ट्रेलियाली खेलाडी डेविड वार्नरले आफू फर्कने बताएका छन् । बिहीबार पेसावर जाल्मी र कराँची किंग्सबीचको खेल रोकिएसँगै प्रतियोगिता अगाडि बढेको थिएन । पूरा प्रतियोगिता नै यूएई सार्ने निर्णय भए पनि त्यो पनि पूरा हुन सकेको थिएन । तर पाकिस्तान र भारतले युद्ध विराममा सहमति जनाएपछि पाकिस्तानी क्रिकेट बोर्डले मे १७ बाट प्रतियोगिता फेरि सुरु गर्ने निर्णय गरेको हो ।
