काठमाडौँ — हङकङसँग ३ विकेटले पराजित भएपछि नेपाल महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया छनोटको लिग चरणबाटै बाहिरिने खतरामा पुगेको छ । वर्षाले प्रभावित अर्को खेलमा मंगलबार हार बेहोरेपछि नेपाल बाहिरिने लगभग निश्चित भएको हो ।
अघिल्लो दिनको वर्षाले मैदान भिजाएको कारण थाइल्यान्डको बैंककस्थित एआईटी मैदानमा खेल ५–५ ओभरको मात्र सम्भव भएको थियो । टस हारेपछि ब्याटिङमा आएको नेपालले ३ विकेट गुमाई २९ रनमात्र बनाउन सक्यो । नेपाली इनिङ्समा सम्झना खड्काले प्रहार गरेको चौका एउटामात्र बाउन्ड्रीका रूपमा रह्यो ।
ओपनर सम्झनाले नेपालबाट ७ बलमा सर्वाधिक १० रन बनाइन् । अर्की ओपनर कविता कुँवरले ३ बलमा २ रनमात्र बनाउन सकिन् । वाई सिउले दोस्रो ओभरमा सम्झना र कविता दुवैलाई आउट गरिन् । पूजा महतो ५ बलमा ३ रन बनाएर आउट भइन् । कप्तान इन्दु बर्मा १० बलमा ९ र रुविना क्षेत्री ५ बलमा ४ रन बनाएर आउट भइन् । सिउले २ ओभरमा ११ रनमात्र खर्चेर नेपालबाट झरेको सबै ३ विकेट लिइन् ।
जवाफमा नेपालले उत्कृष्ट बलिङ सुरुआत गरेको थियो । क्यारी चान पहिलो बलमै रनआउट भइन् । त्यसको दुई बलपछि कप्तान नतासा मिल्सलाई कविताले आउट गरिन् । ओपनर शानजिन सहजादले अविजित १५ रन बनाएपछि हङकङले ४.३ ओभरमा लक्ष्य पूरा गर्यो । उनले चौथो ओभरमा पूजा महतोको बलमा छक्का प्रहार गरेकी थिइन्, जुन हङकङले खेलमा प्रहार गरेको एकमात्र बाउन्ड्री थियो ।
हङकङले ३ ओभरमा १४ रनमात्र बनाउन सकेको थियो । पूजाको त्यही ओभरमा १३ रन जोड्दै हङकङ विजयको नजिक पुगेको थियो । पाँचौं ओभरको पहिलो बलमै कविताले मार्को हिललाई ११ रनमा आउट गरे पनि नयाँ आएकी ब्याटर यासमिन देशवानीले पहिलो २ बलमा ३ रन जोडेर हङकङलाई विजयी दिलाइन् ।
डबल राउन्ड रोबिनमा आयोजित प्रतियोगितामा नेपाल र हङकङबीचको पहिलो खेल पनि वर्षाले रद्द भएको थियो । नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको खेल पनि वर्षाका कारण ५–५ ओभरमा झारिएको थियो । समूह ‘सी’ मा नेपालको ३, हङकङको ४ र बहराइनको १ अंक छ । सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् । त्यसपछि ३ टोलीले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली ट्वान्टी–२० विश्वकप छनोटमा पुग्नेछन् ।
नेपालले बिहीबार बहराइनसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । त्यस्तै हङकङले शुक्रबार बहराइनसँग खेल्नेछ । नेपालले बहराइनलाई पराजित गरेमा र हङकङ पनि बहराइनसँग पराजित भएमा मात्र नेपालको दोस्रो चरण पुग्ने सम्भावना रहन्छ । बहराइनलाई पराजित गरेमा हङकङ नै दोस्रो चरण पुग्नेछ । नेपाल र हङकङ दुवैलाई पराजित गरेमा बहराइननै अर्को चरण पुग्नेछ ।
