भारतसँग हारेपछि नेपाल समूहमा दोस्रो

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

After losing to India, Nepal is second in the group

काठमाडौँ — नेपाल यू–१९ साफ च्याम्पियनसिपमा मंगलबार भारतको हातबाट ४–० ले पराजित भएको छ र यससँगै प्रतियोगिताको समूह ‘बी’ को दोस्रो स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको छ । अब नेपालले अन्तिम चारमा समूह ‘ए’ विजेता बंगलादेशको सामना गर्नेछ । यस्तै अर्को सेमिफाइनलमा भारत र माल्दिभ्स भिड्ने छन् ।

नेपाल र भारत यसअघि नै सेमिफाइनल पुगिसकेका थिए । लिग चरणका दुवै खेल जितपछि भारतको छ अंक भएको छ भने नेपाल तीन अंकमै सीमित रह्यो । भारत इटानगरको गोल्डेन जुबली स्टेडियममा भएको खेलमा भारतका लागि रोहिन सिंहले दुई गोल गरे । यस्तै ओमङ डोडुम र डानी मिथेईले १–१ गोल थपे ।

त्यस अगाडि समूह ‘ए’ को अन्तिम लिग खेलमा माल्दिभ्स र भुटानले २–२ को बराबरी खेले । भुटानलाई सेमिफाइनल पुग्न यो खेलमा निश्चित जित आवश्यक थियो, तर त्यसलाई आत्मसात् गर्न सकेन । यो नतिजापछि माल्दिभ्स दुई अंकमा रह्यो र अन्तिम चारमा पुग्न सफल रह्यो ।

उसले बंगलादेशविरुद्धको पहिलो खेलमा पनि बराबरी खेलेको थियो । भुटान एकै अंकमा समेटियो । भुटानले ल्हाम तेन्जिङको गोलले ४४ औं मिनेटमा सुरुआती अग्रता लिएको थयो । तर उसले त्यसलाई कायम राख्न सकेन । माल्दिभ्सका लागि ७५ औं मिनेटमा मोहम्मद जावेदले बराबरी गोल फर्काए ।

इब्राहिम मोहमदले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै माल्दिभ्सलाई अगाडि राखे । छेघल शेरबले त्यसको दुई मिनेटपछि बराबरी गोल फर्काए पनि त्यसले खेलमा निर्णायक प्रभाव पार्न सकेन । 

बंगलादेश भने चार अंकमा यो समूहको शीर्ष स्थानमा रह्यो । स्पष्ट नतिजा आएको समूहको एक मात्र खेलमा बंगलादेशले भुटानलाई हराएको हो । 

कान्तिपुर

Link copied successfully