म्याड्रिड — च्याम्पियन्स लिग फुटबलका सर्वाधिक सफल व्यवस्थापक कार्लो एन्सेलोटीले दोस्रो पटक रियल म्याड्रिड छाडेका छन् । उनले ब्राजिली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने भएका छन् । उनी पछिल्लो पटक २०२१ मा एभर्टन छाडेर सानटिएगो बेर्नाबेउ आएका थिए ।
म्याड्रिडमा उनले पुरानो जादु पुनः दोहर्याएका पछि रियलले २०२२ र २०२४ को च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उनले प्रशिक्षकाको रूपमा युरोपियन प्रतियोगिताको स्वाद चाखेको यो पाँचौं अवसर थियो । उनले रियललाई २०१४ मै पनि यो उपाधि दिलाएका थिए । अन्य दुई च्याम्पियन्स लिग सफलता उनले एसी मिलानबाट २००३ र २००७ मा पाएका थिए ।
एन्सेलोटीले २०२२ मै स्पेनिस ला लिगाको उपाधि जितेका थिए, जसले उनलाई युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने प्रशिक्षक बनाएको थियो । जिनेदिन जिदानले रियललाई च्याम्पियन्स लिगको उपाधि जिताएर छाडेपछि एन्सेलोटी दोस्रो पटक रियलको प्रशिक्षक बन्न पुगेका थिए ।
गत सिजन रियलले च्याम्पियन्स लिगसँगैं स्पेनिस ला लिगाको उपाधि जिते पनि यस पटक टोलीको त्यो अनुरुपको प्रदर्शन छैन । टोली लिग कपको फाइनलमा आफ्नो परम प्रतिद्वन्द्वी बार्सिलोनासँग र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलसँग पराजित भएको थियो । आइतबारमात्र २ गोलको अग्रता बनाएर बार्सिलोनासँग ४–३ ले पराजित भएपछि रियल ला लिगाको उपाधि दौडमा कमजोर बनिसकेको छ ।
सोमबार उनले रियल छाड्ने निर्णय गर्दै ब्राजिली राष्ट्रिय फुटबल टोलीको पहिलो विदेशी प्रशिक्षक बनेका थिए । ५ पटकको विश्व च्याम्पियन ब्राजिल अहिले २०२६ को विश्वकप छनोट चरणमा संघर्ष गरिरहेको छ । मार्चमा मात्र ब्राजिलले डोरिभल जुनियरलाई बर्खास्त गर्दै प्रशिक्षक पद खाली राखेको थियो । २०२२ मै पनि एन्सेलोटी ब्राजिलको प्रशिक्षक बन्ने नजिक पुगेका थिए, तर पछि त्यो सम्भावना तुहिएको थियो ।
ब्राजिलले विश्वकप छनोट चरणको १४ खेलमा ५ हार बेहोरिसकेको छ र तीन खेल बराबरीमा टुंगिएका छन् । अर्को वर्ष विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा आयोजना हुँदै छ । ६५ वर्षे एन्सेलोटीको स्थानमा रियलले हावी अलोन्सोलाई ल्याउने सम्भावना प्रवल रहेको छ ।
