पुनरागमन जितसँगै बार्सिलोना उपाधितर्फ

दुई गोलले पछाडि परेको बार्सिलोनाले ‘एल क्लासिको’ मा नतिजा पल्टाएपछि रियल म्याड्रिड लिग उपाधि दौडमा कमजोर

वैशाख २९, २०८२

एएफपी

Barcelona on the way to the title with a comeback win

बार्सिलोना — बार्सिलोनाले उत्कृष्ट पुनरागमन जित रच्दै आइतबार स्पेनी ला लिगामा रियल म्याड्रिडलाई ४–३ ले पराजित गरेको छ । ‘एल क्लासिको’ मा प्राप्त यस जितसँगै बार्सिलोना उपाधितर्फ उन्मुख भएको छ । अब उसलाई लिग उपाधि जित्न एक जित पर्याप्त रहनेछ ।

बार्सिलोनाको ३५ खेलबाट ८२ अंक भएको छ र शीर्षमा ६ । रियलबाट केलियन एमबापेले सानदार ह्याट्रिक गरे पनि त्यो आफ्नो टिमलाई हारबाट जोगाउन पर्याप्त रहेन । रियल ७५ अंकमा दोस्रोमा छ । दुई टिमबीचको दूरी सात अंक रहेको छ । स्टाडियो ओलम्पिकोमा भएको खेलमा रियलले १४ मिनेटभित्र दुई गोलको अग्रता लिएको थियो र एमबापेले पाँचौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेपछि १४ औं मिनेटमा दोस्रो थपे ।

त्यसपछि खेलमा बार्सिलोना छाएको थियो । एरिक गार्सियाले १९ औं मिनेटमा पहिलो गोल फर्काए भने लामिन यामलले ३२ औं मिनेटमा गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । राफिन्हाले ३४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलोपल्ट अगाडि राखे । उनैले ४५ औं मिनेटमा आफ्नो दोस्रो व्यक्तिगत गोल पनि थपे । एमबापेले ७० औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

त्यस अगाडि शनिबारको खेलमा एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई ४–० ले हराएको थियो र त्यससँगै उसले तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको थियो । एट्लेटिकोको ३५ खेलबाट ७० अंक भएको छ । सोसिडाड भने ४३ अंकमा १२ औं स्थानमा रहेको छ । खेलको चारै गोल एलेक्जान्डर सोरलोथका नाममा रह्यो ।

नर्वेली खेलाडीले ११ मिनेटभित्र आफ्नो ह्याट्रिक पूरा गरेका थिए । ला लिगा इतिहासमा यो सबैभन्दा छिटो सम्भव तीन गोलको प्रदर्शन हो । यसअघि सन् १९२९ मा युरोपाको चार्ल्स बस्टिट तथा सन् १९४१ मा भ्यालेन्सियाका मुन्डोले १५ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । सोरलोथको चौथो गोल ३० औं मिनेटमा सम्भव भएको थियो । अघिल्लो सिजन पनि भिल्लारियलका लागि खेल्दै सोरलोथले एट्लेटिको म्याड्रिडविरुद्धको ४–४ बराबरीमा चारै गोल गरे । ला लिगा इतिहासमा दुई अवसरमा एकै खेलमा चार गोल गर्नेमा उनीबाहेक रियलका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसी र लुइस स्वारेज रहेका छन् । 

एएफपी

Link copied successfully