छैटौँ जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु

वैशाख २७, २०८२

डीबी बुढा

Sixth Jumla-Rara Ultra Marathon begins

जुम्ला — जुम्लामा छैटौँ जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएको छ । सदरमुकाम खलंगाको बाल मन्दिर नजिकैदेखि म्याराथन सुरु भएको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सिठी फुकेर म्याराथनको उद्घाटन गरेका हुन् ।

म्याराथनमा ५९१ जना धावकले भाग लिएको आयोजक कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । जुम्लादेखि रारा ताल सम्मको ५१ किलोमिटर दुरीमा सुरु भएको म्याराथन बिहान साढे ६ बजेदेखि सुरु भएको हो ।


जुम्ला रारा अल्ट्रा म्याराथनमा ४ जना विदेशी खेलाडीसमेत सहभागी छन् । त्रिभुवन आर्मी क्लबबाट २ जना धावक सहभागी भएका छन् भने पोल्यान्ड, अमेरिका, फ्रान्स र भारतका १–१ जना गरेर ४ जना धावकले भाग लिएका हुन् । जुम्ला रारा अल्ट्रा म्याराथन अन्तर्गत ५ किलोमिटर र १० किलो मिटरको दौड समेत भएको छ । ५ किलोमिटरमा १५५ जना र १० किलोमिटर दौडमा ३५५ जना सहभागी भएका छन् ।


नेपालकोपाँचथर,काठमाडौँ,नुवाकोट,चितवन,बाँके, सप्तरी लगायतका १० जिल्लाबाट समेत खेलाडीहरू जुम्ला आइपुगेका छन् । खाली पाटन,चौथा,डाब,चुचेमारा बेस क्याम्प,चुचेमाराको टपमा चेक प्वाइन्ट राखिएको छ । म्याराथनमा देवीदत्त गण जुम्लाले स्वयंसेवकको भूमिका निभाइरहेको छ । 


खलंगाको बाल मन्दिर देखि चेरे,खाली,न्याउरी घाट,चौथा,डाब,चुचेमारा हुदैं रारा ताल पुग्ने मार्ग तय भएको छ । म्याराथनमा २८ लाख भन्दा धेरै रकम लाग्ने अनुमान आयोजकले गरेको छ । खेलकुदका माध्यमबाट कर्णालीको पर्यटकीय सुन्दरताको उजागर गर्ने हेतुले हरेक वर्ष म्याराथनको आयोजना हुने गरेको छ ।


जुम्ला रारा म्याराथन एउटा इभेन्ट मात्र नभएर खेलाडी उत्पादन गर्ने माध्यम बनेको विश्वकृतिमानी धावक हरीबहादुर रोकायाले बताए । धावक धाविकालाई पञ्चेबाजा बजाएर बिदाइ गरिएको थियो । म्याराथनमा खेलाडीको हौसलाका लागि गाउँ बस्तीदेखि स्थानीय बासिन्दाहरू सदरमुकाम खलंगा आइपुगेका हुन्। 


म्याराथनमा प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल पाउने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully