काठमाडौँ — आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग दोस्रो उपत्यकाव्यापी गोदावरी मेयर कप फुटबलको सेमिफाइनल खेल्ने भएको छ ।
शनिबार गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोलले हराएर दक्षिणकाली समूह ‘सी’ विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
अरुण लामाको ४ गोलप्रेरित आयोजक गोदावरीले बागमतीलाई ७–० ले हराएर सेमिफाइनलमा स्थान बनायो । गोदावरीबाट थप गोल अनिल बम्जनले गरे । अरूण सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अगाडि छन् । उनले यसअघि महालक्ष्मीविरुद्ध ४ र ललितपुर महानगरविरुद्ध एक गोल गरेका थिए ।
ललितपुर महानगरपालिकाले महालक्ष्मी नगरपालिकाविरुद्ध च्यासल मैदानमा भएको खेलमा १–० ले जित्यो । ललितपुर र गोदावरीको ७–७ अंक भए पनि गोल अन्तरका आधारमा गोदावरी अन्तिम चारमा पुग्न पुगेको हो ।
समूह ‘बी’ बाट काठमाडौं महानगरपालिका दुवै खेल जितेर ६ अंकसहित सेमिफाइनलमा पुगिसकेको छ । काठमाडौंले मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकालाई हराएको थियो ।
काठमाडौंको प्रतिस्पर्धी आइतबार हुने कोन्ज्योसोम गाउँपालिका र कीर्तिपुर नगरपालिकाबीचको खेलपछि टुंगो हुनेछ । शनिबार मध्यपुर र चाँगुनारायण नगरपालिकाले १–१ गोलको बराबरी खेलेका थिए ।
