पेरिस सेन्ट जर्मेन फाइनल पुग्नुको रहस्य

वैशाख २६, २०८२

एएफपी

The secret to Paris Saint-Germain reaching the final

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यसपल्ट तय गरेको युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल यात्राको विशेषता हो, फेरिएको क्लब रणनीति । त्यसअनुसार प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा क्लबले ठुल्ठूला स्टार खेलाडीलाई अनुबन्ध गर्न छाडेको छ । त्यसको ठाउँमा सफलताका भोका युवा खेलाडीमाथि नै क्लबले विश्वास गर्न थालेको छ । कतारी लगानीकर्ता भित्रिएपछि पनि पीएसजी ठूलो अवसरमा धेरैपल्ट नराम्रोसँग चुकेको छ ।

यसपल्ट भने यही पीएसजी वास्तवमै सुदृढ खेल प्रदर्शन गर्दै फाइनलमा पुग्यो । बुधबार मात्रै सेमिफाइनल दोस्रो लेगमा टोलीले आर्सनललाई २–१ ले हराएर समग्रमा ३–१ को अग्रता लियो । पीएसजीको जितमा फाबियन रुइज र अचरफ हाकिमीले गोल गरे । म्युनिकमा पीएसजीले मे ३१ मा इन्टर मिलानविरुद्ध फाइनल खेल्नेछ । 

फ्रान्सेली च्याम्पियन पीएसजीले फाइनल पुग्ने क्रममा इंग्लिस प्रिमियर लिगका ठुल्ठूला चार क्लबलाई हराएको थियो । त्यसमा एक त आर्सनल नै भयो । त्यसअघि म्यानचेस्टर सिटी, लिभरपुल र एस्टन भिल्लालाई पनि हराएको थियो । यो सबै युवा खेलाडीले भरिएको टिमबाट सम्भव भएको थियो । आर्सनलविरुद्ध सुरुदेखि खेलेका खेलाडीमध्ये ६ जना २४ वर्ष वा त्यो भन्दा कम उमेरका छन् । सबैभन्दा बढी उमेरका खेलाडी भनेकै ३० वर्षका मारक्विन्होस हुन् । त्यसको ठीक विपरीत मंगलबार इन्टरले बार्सिलोनालाई हराउँदा सिरी ‘ए’ क्लबमा ३६ वर्षका दुई खेलाडी थिए । एकजना ३७ वर्षमाथिका थिए । 

आर्सनलमाथिको जितपछि पीएसजीका समर्थकले मज्जाले खुसी मनाए । यसपल्ट पीएसजीले च्याम्पियन्स लिगका सुरुआती पाँचमध्ये तीन खेल गुमाएको थियो । प्रतियोगिताबाटै बाहिरिने डरबाट गुज्रँदै टोली अगाडि बढेको हो । त्यो भनेको ठ्याक्कै केलियन एमबाप्पेले क्लब छाडेको बेला थियो । सायद त्यति बेला एमबाप्पेलाई लागेको थियो, उनका लागि च्याम्पियन्स लिग जित्ने सबैभन्दा राम्रो अवसर भनेको रियलबाटै हो । 

एनरिकेले सन् २०२३ मा आफूले क्लब सम्हालेयता पीएसजीलाई अर्कै टिम बनाएका छन् । उनी त्यतिबेला क्लबमा आएका थिए, जतिबेला लियोनल मेसी र नेयमरले टिम छाडेका थिए । कप्तान मारक्विन्होस भन्छन्, ‘प्रशिक्षकले विस्तारै पाइला पाइला चालेर टिम अगाडि बढाए । उनी आएयता के लागेको थियो भने टिममा धेरै परिवर्तन आवश्यक छ । क्लबको डीएनएमै परिवर्तन चाहिएको थियो । टिमको मानसिक स्थिति नै राम्रो हुन आवश्यक थियो र यो रातारात सम्भव पनि थिएन ।’ 

पीएसजीमा जतिबेला तीन ठूला स्टार खेलाडी थिए । ती फरवार्डले टिमको रक्षामा कुनै भूमिका खेल्दैनथ्यो । तर अहिले त्यही पीएसजीले विपक्षीमाथि दबाब दिने खेल खेल्छ, त्यसमा सबैले रक्षात्मक भूमिका खेल्छ । मारक्विन्होस थप्छन्, ‘सबैले सामूहिक भावनाले खेल्यो भने आत्मविश्वास बढाउने गर्छ । सबैले उत्तिकै कडा मिहिनेत पनि गर्नुपर्छ ।’

एएफपी

Link copied successfully