जनकपुरधाम — जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको तेस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा महोत्तरी र सर्लाही विजयी भएका छन् ।
रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालामा भएको शुक्रबारको पहिलो खेलमा महोत्तरीले धनुषालाई ४५ रनले र दोस्रो खेलमा सर्लाहीले सप्तरीलाई ६ विकेटले पराजित गरेका हुन् ।
पहिलो खेलमा टस हारेर महोत्तरी ब्याटिङमा उत्रिएको थियो । निर्धारित २० ओभरमा ४ विकेट गुमाएर महोत्तरीले १ सय ६३ रनको लक्ष्य धनुषासमक्ष प्रस्तुत गरेको थियो । उसका लागि अभिषेक तिवारीले सर्वाधिक नटआउट २८ बलमा ४९ रन, नवीन यादवले ३७ बलमा ४६ रन र अविनाश अधिकारीले २८ बलमा ३७ रन बनाए ।
खेल सुरुवातदेखि नै धनुषाको प्रदर्शन कमजोर देखिएको थियो । धनुषाका लागि बलिङ गरेका कप्तान विशाल शुसलिङले ४ ओभरमा ११ रन खर्चेर २ विकेट, रुपेश यादव र सुजित मण्डलले एक–एक विकेट लिए ।
१ सय ६३ रनको लक्ष्य पछ्याएको धनुषाले निर्धारित ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १८ रन बनाउन सके । उसका लागि ओपनर म्यान यादवले ३० बलमा २६ रन, साजन यादवले १९ बलमा २३ रन र रुपेश यादवले १४ बलमा १४ रन बनाए ।
महोत्तरीका लागि बलिङ गरेका रमेश सहनीले ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिएका थिए । आकाश मण्डलले ३ विकेट, अभिषेक तिवारी र अविनाश अधिकारीले एक–एक विकेट लिए । खेलको म्यान अफ दी म्याच महोत्तरीका अभिषेक तिवारी घोषित भए ।
यस्तै, दोस्रो खेलमा सप्तरीलाई पराजित गर्दै सर्लाही ६ विकेटले विजयी भएको छ । सप्तरीले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । सप्तरीका खेलाडीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रनको लक्ष्य सर्लाहीसमक्ष प्रस्तुत गरेका थिए । उसका लागि भोला साहले ३६ बलमा ३१ रन, अभिषेक कार्कीले २० बलमा २६ रन र पप्पु यादवले २३ बलमा ३० रन बनाएका थिए ।
सर्लाहीका लागि बलिङतर्फ विशाल पट्टेल, जितेश मण्डल र निरज यादवले समान दुई–दुई विकेट लिए ।
१ सय ५३ रनको लक्ष्य पाएको सर्लाहीले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । जितेश मण्डलले नटआउट ३२ बलमा ४२ रन, विशाल पट्टेलले ३३ बलमा ३७ रन, परिमार्जन यादवले २२ र रञ्जित यादवले २१ रनको योगदान दिए ।
बलिङतर्फ अभिषेक कार्कीले २ र गोमान्नद अमात्यले १ विकेट लिए । खेलको म्यान अफ दी म्याच सर्लाहीका विशाल पट्टेल घोषित भए ।
