मिलान — इन्टर मिलान युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि जित्नबाट एकै जित मात्र टाढा रहेको छ । बार्सिलोनामाथि मंगलबार राति सनसनीपूर्ण जित निकालेपछि इटालियन क्लब इन्टर प्रतियोगिताको फाइनल पुगेको हो । सिमोनी इन्जाघीको टिम केही साताअघिसम्म असाध्यै कमजोर स्थितिमा भासिएको थियो ।
इन्टरले इटालीको सिरी ‘ए’ को शीर्षस्थान नेपोलीलाई समर्पण गरेको थियो । इटालियन कपमा छिमेकी एसी मिलानसँग पराजित हुँदै बाहिरिएको थियो । तर एकसेएक स्टार खेलाडीले भरिएको बार्सिलोनालाई माथ दिएपछि इन्टरमा एकाएक खुसी ब्युँझिएको छ । अनि उसको सामु त्यो सम्भावना तयार भएको छ, जसले इन्टरलाई चौथोपल्ट युरोपको च्याम्पियन बनाउने छ ।
इन्टर तीन वर्षमा दोस्रोपल्ट यो प्रतियोगिताको फाइनल पुगेको थियो । पछिल्लो पटक इन्टर इस्तानबुलमा भएको फाइनलमा म्यानचेस्टर सिटीको हातबाट पराजित भएको थियो । अब इन्टरसामु त्यतिबेलाको भुल सच्याउने पनि अवसर हुनेछ । ‘जतिबेला हामीले त्यो फाइनल गुमाएको थियौं, त्यही दिनदेखि आजको जस्तो जितको सपना बुनेका थियौं,’ खुसीले रूनमात्र नसकेको इन्टरका कप्तान लाउटारो मार्टिनेजले भने ।
उनले थपे, ‘अब हामीसामु यो सिजनलाई सुखद अन्त्य दिने चुनौती छ । हामीसामु इतिहास बनाउने एउटा अर्को अवसर बनेको छ ।’ बार्सिलोनामाथि ७–६ को समग्र सेमिफाइनल जितले इन्टर यसका लागि सक्षम भएको पनि प्रमाणित भएको छ । त्यसैले मार्टिनेज आफ्नो टिमको प्रदर्शनमा गर्व गर्छन् ।
‘बार्सिलोना त्यस्तो टिम थियो, जसलाई हामीले उच्च प्रतिद्वन्द्वी मान्न सक्छौं । पछिल्ला केही सिजनदेखि हाम्रो प्रदर्शन राम्रो हुँदै गएको छ । त्यसैले टिमको यो प्रदर्शनमा हामीलाई गर्व छ,’ मार्टिनेजले थपेका छन् ।
बार्सिलोनाका लागि भने यो हार साँच्चै बिर्सनलायक रहनेछ । तर, क्लबका प्रशिक्षक हान्सी फ्लिकले भने आफ्नो टिमको प्रदर्शनप्रति गर्व रहेको बताए । उनले भने, ‘हामीले इन्टरविरुद्ध सक्दो राम्रो प्रदर्शन गर्यौं । तर यो हार स्वीकार्नु बाहेक अर्को विकल्प छैन् । हामी यत्तिकैमा रोकिने छैनौं । हामीले उत्कृष्ट पुनरागमन रच्ने छौं । हाम्रो लक्ष्य च्याम्पियन्स लिग जित्नु नै हो ।’ स्पेनी सुपर कप र कोपा डेल रे जितिसकेको बार्सिलोनासामु अब स्पेनी ला लिगा जित्ने अवसर हुनेछ ।
