डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सको प्लेअफ पुग्ने सम्भावना कमजोर
काठमाडौँ — चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन कोलकाताको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । चेन्नईको भने यसअघि नै प्रतियोगिताको प्लेअफ पुग्ने सम्भावना सकिसकेको थियो ।
जितका लागि १ सय ८० रन पछ्याएको चेन्नईले ८ विकेट गुमाएर १९.४ ओभरमा १ सय ८३ रन बनाएको थियो । महेन्द्रसिंह धोनी १७ रन बनाएर नटआउट रहे । उनले १८ बलमा एक छक्का प्रहार गरेका थिए ।
टोलीका लागि सबैभन्दा उच्च योगदान भने डेवाल्ड ब्रेभिसको रह्यो । उनले २५ बलमा ५२ रन बनाए । त्यसमा ४ चौका र ४ छक्का सामेल थियो ।
शिवम् दुबेले पनि ४० बलमा ४५ रन बनाए । उर्भिल पटेलले ३१ र रवीन्द्र जडेजाले १९ रन बनाए । जडेजाले १० बलमा २ चौका र १ छक्का हाने । जितले चेन्नईको ६ अंक भएको छ । टोली तालिकाको पुछारमा छ । कोलकाता भने ११ अंकसहित छैटौं स्थानमा रह्यो ।
कोलकाताले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो । ६ विकेट गुमाएर १ सय ७९ रनको स्कोर खडा गरेको थियो । यसमा कप्तान अजिन्क्या रहानेले ४८ रनको योगदान थियो । उनले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
ओपनर सुनिल नारिनले २६ रन जोडे । मनीष पाण्डेले ३६ र आन्द्रे रसेलले ३८ रन बनाए । विशेषतः रसेल बढी आक्रामक रहे । उनले २१ बलमात्र सामना गरे । त्यसमा ४ चौका र ३ छक्का सामेल थियो । चेन्नईका बलरमध्ये नूर अहमद सबैभन्दा सफल रहे । उनले ४ ओभरमा ३१ रन मात्र खर्चेर ४ विकेट लिएका थिए । रवीन्द्र जडेजा र अंशुल कम्बोजले १–१ विकेट लिएका थिए ।
