गुजरात शीर्षस्थानमा

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Gujarat tops the list

मुम्बई — वर्षाले प्रभावित खेलमा गुजरात टाइन्सले बुधबार मुम्बई इन्डियन्सलाई नाटकीय रूपमा तीन विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लेको छ । डकवर्थ लुइस नियमअनुसार प्राप्त जितपछि गुजरातको १६ अंक भएको छ ।

खेल वर्षाले बिथोलिएपछि गुजरातले १९ ओभरमा १ सय ४७ रनको नयाँ लक्ष्य पाएको थियो ।

त्यस अनुसार जितका लागि गुजरातलाई ६ बलमा १५ रन चाहिएको थियो । गुजरातले ७ विकेट गुमाएर विजयी रन बनायो । मुम्बई भने १४ अंकमै सीमित रह्यो । राहुल टेवाटिया ११ रन बनाएर नटआउट रहे ।

अन्तिम पटक खेल रोकिँदा गुजरातले ६ विकेटमा १ सय ३२ रन बनाएको थियो । त्यसमा शुवमन गिलको सबैभन्दा बढी ४३ रनको योगदान रह्यो । उनले ४६ बलमा ३ चौका तथा १ छक्का प्रहार गरे । जस बटलरले ३० र सेरफेन रडरफोर्डको ब्याटबाट २८ रन निस्केको थियो ।

टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको मुम्बईले ८ विकेट गुमाई १ सय ५५ रन बनाएको थियो । मुम्बईका विल ज्याकले सर्वाधिक ५३ रन बनाए । सूर्यकुमार यादवले ३५ रनको योगदान गरे । उनीहरूले तेस्रो विकेटमा ७१ रनको साझेदारी गरे ।

टिमको स्कोर यसमै टिकेको थियो । ज्याकको ३५ बलको इनिङ्समा ५ चौका र ३ छक्का सामेल थियो । सूर्यले ५ चौका प्रहार गरे । इनिङ्सको अन्त्यतिर कोरबिन बोसले २२ बलमा २७ रन थपे । गुजरातका साई किशोर सबैभन्दा सफल बलर रहे ।

उनले ३४ बलमा २ विकेट लिए । नियमित अन्तरमा विकेट गुमाएपछि मुम्बईको ब्याटबाट कमजोर प्रदर्शन रह्यो ।

कान्तिपुर

Link copied successfully