लायन्स कप भलिबल : एपीएफलाई हराउँदै आर्मी तेस्रो

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

Lions Cup Volleyball: Army third after defeating APF

कास्की — त्रिभुवन आर्मी क्लब प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा तेस्रो भएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–१ को सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो । 

आर्मीले पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले जित्यो । एपीएफले तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो । चौंथो सेटमा २५–२३ को जित निकाल्दै आर्मी तेस्रो बन्यो । आर्मीले पुरस्कारबापत १ लाख ४४ हजार ४४४ प्राप्त गरेको छ । 

इरानको इरानी भलिबल टिम र नेपाल पुलिस क्लबबीच दिउँसो ४:२० बजेदेखि फाइनल सुरू भएको छ । विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्टले जनही ८ हजार ४ सय ४४ रुपैयाँ पाउनेछन् । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ देखि सुरू भएको प्रतियोगितामा ६ टिम सहभागी छन् । 

कान्तिपुर

Link copied successfully