काठमाडौँ — त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला हकी प्रतियोगितामा च्याम्पियन ट्रफी जितेको छ । सिंगल राउन्ड रोबिन लिगमा आर्मी शीर्षस्थानमा रहेर उपाधि जितेको हो ।
चार टिम सहभागी महिलातर्फ आर्मीले अपराजित रहेर ९ अंक जोडेको थियो । च्यासल मैदानमा सोमबार फाइनल सरहको लिगको अन्तिम खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोलले पराजित गरेको थियो ।
आर्मीबाट दमरा भट्टले २ र सीतामाया बलले १ गोल गरेका थिए । दमरा ‘प्लेयर अफ द म्याच’ बनिन् । दुईमा जित र एकमा हार बेहोरेको गण्डकी ६ अंकसाथ दोस्रो भयो । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा ३ अंकसाथ मधेश प्रदेश तेस्रो भयो । मधेशले बागमती प्रदेशलाई १–० गोलले हरायो । भावना राईले निर्णायक गोल गरेकी थिइन् । विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार हात पारे ।
आर्मीकी निलिमा पाण्डे उत्कृष्ट खेलाडी भइन् । मधेशकी खुश्बु कुमारी उदीयमान खेलाडी चुनिइन् । गोलरक्षकमा अनिशा थापा मगर र डिफेन्समा सोनु बराल उत्कृष्ट भए । दुवै गण्डकीका हुन् । ५ गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । सबैले जनही ५ हजार पुरस्कार पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कृत गरे ।
पुरुषको सेमिफाइनल समीकरण
राष्ट्रिय पुरुष हकी प्रतियोगिताको सोमबार सेमिफाइनल पूरा भएको छ । सेमिफाइनलमा आर्मीको भेट एपीएफ क्लबसँग हुनेछ भने गण्डकीले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ । पुलिसले बागमतीलाई २–० गोलले हरायो । दुवै गोल प्लेयर अफ द म्याच शंकर घर्ती मगरले गरे ।
सरोजकुमार गोलेको निर्णायक गोलमा नवप्रवेशी टोली एपीएफले कर्णाली प्रदेशमाथि १–० गोलको जित रच्यो । सरोज प्लेयर अफ द म्याच भए । गण्डकीले मधेशलाई ३–० ले हराउँदा दीपक तामाङले २ र कुशल नेपालीले १ गोल गरे । दुवै सेमिफाइनल मंगलबार हुनेछ ।
