ताम्बश्रीले उचाल्यो गढीमाई प्रिमियर लिगको उपाधि

वैशाख २१, २०८२

शंकर आचार्य

Tambashri lifted the Gadhimai Premier League title

पर्सा — गढीमाई क्रिकेट प्रिमियर लिगको उपाधि ताम्बश्री नेपालले उचालेको छ । शनिबार भएको फाइनल खेलमा ताम्बश्रीले सुधीर वारियर्सलाई ७४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको ताम्बश्रीले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६१ रनको विशाल स्कोर खडा गर्‍यो । जसमा विशाल साहको ४० र अनुज पटेलको २९ रनको योगदान थियो । 

सुधीर वारियर्सका बलरहरुमा, अलिराज र अंगुर आलमले ३/३ विकेट लिएका थिए । महम्मद सरिफले २ विकेट हात पारे । 

जवाफी ब्याटिङ गर्दा सुधिर वारियर्स १६ ओभरमा अलआउट भई ८७ रन मात्र बनाउन सक्यो । उसका बाल्मिकी पटेलले सर्वाधिक ३८ र महम्मद सरिफ १६ बनाएका थिए । 

ताम्बश्रीका राजन साहले ४ र विशाल साहले २ विकेट लिएका थिए । प्रतियोगितको उत्कृष्ट ब्याट्सम्यान तथा ‘म्यान अफ दि सिरिज’ सुधीर वारियर्सका महम्मद सरिफ घोषित भए । प्रतियोगिता भर उनले १ सय १७ रन बनाएर ८ विकेट लिएका थिए । 

विजेता टिमलाई नेपाली कांग्रेस नगर सभापति मणिन्द्रलाल नेपालीले शिल्ड तथा पुरस्कार वितरण गरे । उपविजेता टिमलाई सुधीर पटेलले पुरस्कार दिएका थिए । विजेताले ६० हजार नगदसहित कप र उपविजेताले ३० हजार नगदसहित कप पाएका थिए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully