राष्ट्रिय हक्की : उपाधि दौडमा आर्मी र गण्डकी

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

National Hockey: Army and Gandaki in title race

काठमाडौँ — त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । ललितपुरको च्यासल रंगशालामा आर्मीले बागमती प्रदेशलाई ८–० गोलले हरायो । आर्मीबाट कमला चन्द, निलिमा पाण्डे र दमरा भट्टले २–२ गोल गरे । सुनीता नेगी र सीतामाया बलले १–१ गोल थपेका थिए ।

चार टोली सहभागी महिलातर्फ लिगको शीर्षस्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म आर्मीसँगै गण्डकीले पनि दुई जित निकालेको छ । समान दुई खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ । अब आइतबार गण्डकी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । यो खेलले नै उपाधि विजेताको टुंगो लगाउने छ । लिगमा समान दुई खेल खेलेका बागमती र मधेशले अंक जोड्न सकेनन् ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । समूह ‘बी’ को खेलमा पुलिसले एपीएफमाथि ३–० गोलको जित निकाल्यो । पुलिसका नवराज खत्रीले ह्याट्रिक गरे ।

चार टोली रहेको समूहबाट शीर्ष दुईमा रहँदै पुलिसले सेमिफाइनलमा स्थान बनाएको छ । समान दुई खेलबाट अपराजित पुलिसको ६ अंक र कर्णालीको ३ अंक छ । दुई खेलबाट एपीएफ र बागमतीको समान १ अंक छ । यो समूहमा कर्णालीसँगै एपीएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

अर्को खेलमा कोशी र गण्डकीले ३–३ गोलको बराबरी खेले । कोशीका लक्ष्मण सामरिया, योगेशकुमार बाह्रघरे र आर्यन चौधरीले १–१ गोल गरे । गण्डकीबाट दीपक तामाङले २ र संगम घर्तीमगरले १ गोल गरे । दुवै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना बलियो बनाउन चाहन्थे । तर, बराबरीपछि आर्मीले सेमिफाइनलमा स्थान बनायो । २ खेलबाट आर्मी ६ अंकसहित शीर्षस्थानमा छ । २  खेलमा कोशीको ४ अंक, गण्डकीको १ अंक छ भने मधेश अंकविहीन छ । कोशी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा स्थान बनाउने छ ।

कान्तिपुर

Link copied successfully