एमएम कप क्रिकेट : बदला लिँदै पुलिस च्याम्पियन

वैशाख २०, २०८२

अर्जुन सुवेदी

MM Cup Cricket: Revenge Police Champions

सुनसरी — नेपाल पुलिस क्लबले तेस्रो एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले त्रिभुवन आर्मी क्लबको ह्याटिक उपाधि यात्रालाई रोक्दै पहिलो पटक एमएम कप जितेको हो ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न शनिबार फाइनलमा पुलिसले दुई संस्करण विजेता आर्मीलाई २४ रनले हरायो । दुवै पटक पुलिसलाई हराएर आर्मी विजेता बनेको थियो । यस पटक पुलिसले आर्मीसँग बदला लिएको छ ।

२ सय ४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाई २ सय १५ रन बनाउन सक्यो । हिमांशु दत्ताले अर्धशतकीय योगदान गरे । उनले ८० बलमा ६ चौका र २ छक्का प्रहार गरे । निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४ र नरेन साउदले २१ रन बनाए । विशाल सुस्लिङले १८ रन बनाउँदा कप्तान विनोद भण्डारीले ७ रन बटुले । उत्कृष्ट सुरुआत गरेको आर्मीले १ सय ३० रन बनाउँदा मात्र १ विकेट गुमाएको थियो । तर २७ औं ओभरमा हिमांशु दत्तालाई विपिन खत्रीले क्याचआउट गरेपछि आर्मीको विकेट खस्नेक्रम रोकिएन र पुलिस खेलमा फर्कियो । गृहनगरमा खेलिरहेका पुलिसका श्रवण यादवले विनोद भण्डारी, नरेन साउद, तुलबहादुर थापा र सुमित श्रेष्ठको गरी महत्वपूर्ण ४ विकेट लिए । उनले १० ओभरमा ६३ रन खर्चिए । चित्र विष्टले २, विपिन खत्री र सुनिल दौल्यालले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाई २ सय ३९ रन बनाएको थियो । अरुण ऐरीले सर्वाधिक ६४ रन बनाए । ८९ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे । कप्तान शंकर रानाले ८१ बलमा १ चौका र ४ छक्कासहित ५१ रन बनाए । दीपक डुम्रेले ३६, श्रवण यादवले ३२ र अविनाश कर्णले १९ रन बनाए । आर्मीका दुर्गेश गुप्ता, नरेन र तुलबहादुरले २–२ विकेट लिए । विशाल सुस्लिङ, पवन कार्की र सुमित श्रेष्ठले १–१ विकेट लिए ।

प्लेयर अफ द म्याच श्रवण यादव भए । उनले ४ हजार रुपैयाँ पाए । विजेता पुलिसले ४ लाखसहित ट्रफी उचाल्यो । आर्मीले २ लाख रुपैयाँ पायो । सर्वोत्कृष्ट खेलाडी आर्मीका नरेन साउद भए । उनले २५ हजार रुपैयाँ पाए । उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशी प्रदेशका प्रेम कामत भए । उनीहरूले जनही १५ हजार रुपैयाँ पाए । विजेता खेलाडीलाई बिराटनगर महानगरका नगरप्रमुख नागेश कोइराला, क्यानका उपाध्यक्ष रोशन सिंहलगायतले पुरस्कृत गरे । एमएम कप फाउन्डेसन सुनसरीद्वारा आयोजित प्रतियोगितामा एक भारतीयसहित ६ टिमको सहभागिता थियो ।

अर्जुन

Link copied successfully