इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले जितिसकेको छ अनि रेलिगेसनमा पर्ने तीन टिमको पनि निधो भइसकेको छ, तर तालिकाको शीर्ष पाँचमा रहने टिमका लागि भने प्रतिस्पर्धा जारी छ
लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितिसकेको छ अनि रेलिगेसनमा पर्ने तीन टिमको पनि निधो भइसकेको छ । तर अंकतालिकाको शीर्ष पाँच स्थानमा रहने टिमका लागि भने चर्को प्रतिस्पर्धा अझै कायम छ । म्यानचेस्टर सिटी एक समय सिजनको मध्यतिर खराब प्रदर्शनबाट गुज्रेको थियो, त्यसैले टोलीको उपाधि रक्षाको अभियान पनि सकिएको थियो ।
अहिले कम्तीमा सिटीले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्न पाँच टिममध्ये एक हुने लगभग निश्चित जस्तै भइसकेको छ । सिटीका लागि यो सिजन उतारचढावपूर्ण नै रह्यो भन्दा हुन्छ । कम्तीमा च्याम्पियन्स लिगमा छनोट टोलीको सफलता मानिनेछ । यसको सबैभन्दा ठूलो परीक्षा उल्भसको हातबाट हुनेछ । उल्भस त्यही टिम हो, जो सबैभन्दा उत्कृष्ट लयमा छ ।
अंक तालिकाको पुछारमा भने साउथह्याम्पटन त्यस्तो एउटा प्रदर्शनबाट बच्न प्रयासरत छ, जसलाई कुनै पनि टिमको सबैभन्दा खराब प्रदर्शनको इतिहास मानिनेछ । यो सप्ताहन्त हुने खेलअघि दुई त्यस्ता तथ्यको विश्लेषण गर्ने प्रयास गर्नेछौं, जसलाई चर्चाको विषय मान्न सकिन्छ ।
खराब प्रदर्शनबाट जोगिने अवसर
गत सप्ताहन्त साउथह्याम्पटन फुलहमविरुद्ध बराबरीबाट केही सेकेन्डमात्रै टाढा थियो । यो नतिजा आएको भए साउथह्याम्पटनले डर्बीको नाममा रहेको प्रिमियर लिगको सबैभन्दा कम ११ अंकको प्रदर्शन उछिन्ने थियो । तर अंकतालिकाको सबैभन्दा पुछारमा रहेको साउथह्याम्पटनले फुलहमको दबाब रोक्नै सकेन ।
रायन सेसेगनले खेलको इन्ज्युरी समयमा विजयी गोल गरेका थिए । सेन्ट मेरिजमा भएको खेलमा एक गोलले पछाडि रहेको स्थितिबाट फुलहम जित निकाल्न सफल रह्यो । यो साउथह्याम्पटनका लागि ‘घाउमा नुन छर्के’ जस्तै थियो । किनभने यो टिम लामै समयअगाडि रेलिगेसनमा पर्ने निश्चित भइसकेको थियो ।
सन् २००७–०८ मा डर्बी रेलिगेसनमा पर्दा टोली ११ अंकमै रोकिएको थियो । यो नै अहिलेसम्मको सबैभन्दा खराब प्रदर्शन हो । शनिबार साउथह्याम्पटन लेस्टर सिटीको भ्रमणमा निस्कने छ । लेस्टर आफैंमा रेलिगेसनमा परिसकेको अर्को टिम भयो । त्यसैले साउथह्याम्पटनसामु डर्बीको खराब प्रदर्शनभन्दा राम्रो गर्ने सबैभन्दा राम्रो अवसर हुनेछ ।
‘अहिले जे जस्तो स्थिति छ, त्यसमा आशावादी हुनु नै एकमात्र उद्देश्य हुनुपर्छ,’ क्लबका निमित्त प्रशिक्षक सिमाने रस्कले भनेका छन्, ‘हामीले धेरै खराब नतिजा बेहोरेका छौं, त्यसैले अंकतालिकाको पुछारमा छौं । कुनै पनि बेला हाम्रो प्रदर्शन ठोस र प्रभुत्वशाली हुन सकेन । हाम्रो प्रदर्शन इतिहासकै सबैभन्दा खराब रहेन भने त्यसले कलिकति भए पनि शान्ति दिनेछ ।’
पेरिसका लागि आर्सनलको तयारी
आर्सनलका लागि उपाधिको होड समाप्त भइसकेको मात्र छैन, टोलीले दोस्रो स्थान हात पार्ने निश्चित जस्तै भइसकेको छ । खासमा आर्सनल लगातार तेस्रो सिजन उपविजेतामै सीमित हुने जस्तो देखिएको छ । त्यसैले पनि मिखेल मार्टेटाको ध्यान अर्को सिजन हुने युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा छ ।
टोलीले बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्दै छ । पहिलो लेगमा घरमै आर्सनल पीएसजीसँग १–० ले पराजित रह्यो । आर्सनलको लक्ष्य पेरिसमा गएर प्रसिद्ध ऐतिहासिक जित निकाल्ने नै हुनेछ । आर्सनलले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । त्यसैले आर्टेटाको लक्ष्य भनेकै फाइनल प्रवेश हुनेछ ।
त्यसैले शनिबार बर्नमाउथको सामना गर्दा आर्सनलले आफ्ना प्रमुख खेलाडीलाई आराम दिन्छ भने त्यसमा आश्चर्य नमाने हुन्छ । टिमका प्रमुख खेलाडी मिकेल मेरिनो के मान्छन् भने आफ्ना सबै साथीलाई के विश्वास छ भने सन् २००६ यता पहिलो पटक आर्सनल फाइनल पुग्नेछ । ‘हामीले आफूलाई नै प्रमाणित गर्ने हो, पीएसजीविरुद्धको खेलमा,’ मेरिनो मान्छन् ।
