देवाश्रीलाई ज्ञान मेमोरियल गल्फ उपाधि

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

Gyan Memorial Golf Title to Devashree

काठमाडौँ — देवाश्री राणाले ज्ञान मेमोरियल ओपन गल्फ प्रतियोगिता जितेकी छन् । ज्ञान फाउन्डेसनको आयोजनामा शनिबार रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा भएको स्पर्धाको लेडिजतर्फ देवाश्रीले ४४ स्कोर गर्दै उपाधि जितिन् । स्टेबलफोर्ड ३/४ ह्यान्डिक्यापका आधारमा खेलाइएको प्रतियोगितामा ३९ स्कोर गर्दै सम्झना खत्री दोस्रो भइन् ।

देवाश्रीले ३ बर्डीका साथ सर्वाधिक बर्डीको उपाधि पनि जितिन् । लङ्गेस्ट ड्राइभमा सम्झना खत्री, क्लोजेस्ट टु द पिनमा सन्ध्या राई र स्ट्रेट ड्राइभमा जेन थम्सन विजयी भए । लेडिज सिनियरतर्फ देवी पुलामीमगर २९ स्कोर गर्दै पहिलो र जेन थोम्सन २६ स्कोर गर्दै दोस्रो भए । सुपर लेडिजतर्फ पवित्रा याक्थुम्बा १३ स्कोर र पुष्पा राई १० स्कोर गर्दै क्रमशः पहिलो र दोस्रो स्थानमा विजयी भए ।

यू–१८ मा ब्वाइजतर्फ सुशान्त कडाल र गर्ल्सतर्फ अभानी राई च्याम्पियन बनेका छन् । सुशान्त र उपविजेता सिद्धान्त सापकोटा दुवैले समान ३८ स्कोर गरेका थिए । काउन्टब्याकका आधारमा सुशान्त विजयी भए । गर्ल्सतर्फ अभानीले ३१ र उपविजेता यशस्वी श्रेष्ठले २३ स्कोर गरेका थिए । यू–१६ ब्वाइजतर्फ दिप्सन लामा ४५ र अविरल बराल ४३ स्कोर गर्दै क्रमशः पहिलो र दोस्रो भए ।

Gyan Memorial Golf Title to Devashree

पार्वती सुवेदी २८ र गीता तामाङ २७ स्कोर गर्दै लेडिज क्याडीतर्फ विजेता र उपविजेता बने । आरएनजीसीका अध्यक्ष मधुकर याक्थुम्बाले आफ्नो पिताको नाममा तीन वर्षदेखि यो प्रतियोगिता गर्दै आएका छन् । विजेतालाई अध्यक्ष याक्थुम्बासहित ज्ञान फाउन्डेसनकी प्रमुख प्रमुख इन्दिरा याक्थुम्बा, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, आरएनजीसीका क्याप्टेन मिथुन राई र लेडिज क्याप्टेन आर्सिया बानुले पुरस्कृत गरे । प्रतियोगिता समापनमा खेलकुदका तीन सञ्चारकर्मी श्याम चित्रकार, महेश आचार्य र सरिता श्रेष्ठलाई सम्मान गरिएको थियो । इन्दिरा याक्थुम्बाले उनीहरूलाई सम्मान प्रदान गरे ।

कान्तिपुर

Link copied successfully