महिला फुटबलमा आयोजक मकवानपुर पराजित

वैशाख १९, २०८२

सुवास विडारी

Host Makwanpur defeated in women's football

मकवानपुर — हेटौंडामा शुक्रबार सुरु राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा पराजित गरेको छ । गौरीटार मैदानमा निर्धारित समय १–१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यसमा चितवन ५–४ विजयी भयो ।

चितवनले दोस्रो हाफलगत्तै अग्रता लियो । चितवनकी अनिता गुरुङले फ्रिकिकमा हेडमार्फत गोल गरिन् । त्यसको केहीबेरमै मकवानपुर १० खेलाडीमा खुम्चियो । मकवानपुरकी खुसाना राईले चितवनकी गोलरक्षक सुजता तामाङलाई फाउल गरेपछि रातो कार्ड पाएकी थिइन् । अन्तिम मिनेटमा मकवानपुरबाट सजिना स्याङ्तानले गोल गरेर खेल बराबरीमा ल्याइन् । प्लेयर अफ द म्याच चितवनकी अनिता गुरुङ भइन् । उनले १० हजारसहित ट्रफी प्राप्त गरिन् । शनिबार बाराको नवजनजागृति क्लब सिमरा र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाखसहित ट्रफी जित्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully