बार्सिलोना — बार्सिलोना र इन्टर मिलानले युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पहिलो लेगमा बुधबार ३–३ को सनसनीपूर्ण बराबरी खेलेका छन् ।
यो खेलको नायक रहे, किशोर स्टार लामिन यामल । इन्टरले मार्कस थुराम र डेन्जेल डम्फ्रिसको गोलमा सुरुआती दुई गोलको अग्रता लिएपछि यामलले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।
फेरान टोरेसले पाँचपल्टको च्याम्पियनलाई बराबरीको स्थितिमा ल्याएका थिए । पछि डम्फ्रिसले इन्टरका लागि फेरि गोल गरे भने यान सोमरको आत्मघाती गोलमा खेल अन्ततः बराबरीमा आएको थियो । ‘यति धेरै गोलको अवसर दिनु ठीक होइन । तर इन्टरले जसरी खेल्यो, त्यसका लागि उनीहरूलाई श्रेय दिनुपर्छ, निकै राम्रो खेले,’ राफिन्हाले भने ।
उनकै शक्तिशाली प्रहार आत्मघाती गोलको कारक बनेको थियो । उनले थपे, ‘सबैभन्दा मुख्य कुरा के भने यो खेलको नजिता त्यस्तो रह्यो, जसमा सबै सम्भावना खुला छ ।’
घरेलु फुटबलमा लगातार तीन खेल गुमाएको इन्टरको तीन उपाधि जित्ने सम्भावना पनि समाप्त भइसकेको छ । तर यही टिमले बार्सिलोनाविरुद्ध भने उत्कृष्ट खेल पस्केको थियो । दुई गोल गरेको डम्फ्रिसको प्रतिक्रिया यस्तो रह्यो, ‘लगातारको खराब प्रदर्शनपछि हामीले वास्तविक इन्टर देख्न पायौं । हामीले आफूले सक्दो राम्रो खेल्यौं र यो प्रदर्शनमा मलाई निकै धेरै गर्व छ ।’
अर्कोतर्फ बार्सिलोना आफैं चार उपाधिको सम्भावनाबाट गुज्रिरहेको छ । बार्सिलोनाका लागि सय खेल खेलिरहेका यामलले विश्व फुटबलको सबैभन्दा ठूलो सम्भावना बोकेको खेलाडी भनेर आफूलाई प्रमाणित गरे । उनी भर्खर १७ वर्षका भएका छन् । यही उमेरमै उनले बार्सिलोनाका लागि खेलेको खेलले कोसेढुंगा संख्या छोइसकेको छ ।
इन्टरका प्रशिक्षक सिमोनी इन्जाघीले पनि यामलको खुलेर प्रशंसा गरे । उनको भनाइ थियो, ‘यामल निकै उत्कृष्ट खेलाडी हुन् र यस्तो प्रतिभाशाली खेलाडीको जन्म ५० वर्षमा एकपल्ट हुन्छ । मैले आफ्नो प्रशिक्षक जीवनमा यति धेरै प्रतिभाशाली खेलाडी देखेको छैन । उनको खेल प्रत्यक्ष रूपमा पहिलो पटक देखें र उनले लगातार हामीलाई समस्यामा राखिरहे । उनलाई मात्र रोक्न खोज्दा अन्यत्र हाम्रो समस्या देखियो ।’
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले भने यामलको प्रशंसा नै गरे । खेलअगाडि उनले यामलको तुलना लियोनल मेसीसँग गर्न चाहेनन् । तर यत्ति भने, ‘यामलको गोल यति धेरै सुन्दर रह्यो कि त्यसमा अर्जेन्टिनी खेलाडीलाई पनि गर्व हुनेछ ।’
अर्कोतर्फ दोस्रो लेगको सेमिफाइनलमा केन्द्रित भएर बार्सिलोनाका प्रशिक्षक फ्लिक आशावादी रहे । उनले भने, ‘यो खेलमा हामीले मिलानविरुद्ध जसरी मौका सिर्जना गर्न सक्यौ., त्यसले देखाउँछ दोस्रो लेगमा हाम्रो सम्भावना जीवन्त छ । हामीले पूरा संघर्ष गर्नेछौं ।’
दोस्रो लेगको खेल अर्को मंगलबार हुनेछ । त्यसको विजेताले फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) वा आर्सनलमध्ये एकको सामना गर्नेछ । फाइनल भने मे ३१ मा म्युनिखमा हुनेछ ।
