काठमाडौँ — निशान श्रेष्ठ र आरभसम्राट हाडा बिहीबार ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको फाइनल पुगेका छन् ।
निशानले निहालजंग थापालाई ६–३, ६–२ र आरभले राजवीर प्रधानलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६–१, ६–१ र स्वस्तिका विष्टले आइसा डोल्कर गुरुङलाई ६–१, ६–१ को सोझो सेटमा हराएर फाइनल पक्का गरे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सीमान्त गुरुङलाई ६–०, ६–० र सन्तोष खत्रीले भीष्मजंग गुरुङलाई ६–३, ६–३ को सोझो सेटमा हराएर फाइनल तय गरे ।
३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षितको जोडीले भीष्मजंग र गगन महर्जनको जोडीलाई ६–४, ६–२ तथा सन्तोष र छेवाङ लामाको जोडीले सीमान्त र नवीन श्रेष्ठको जोडीलाई ६–०, ६–० को सोझो सेटमा रोक्दै फाइनल भिडन्त पक्का गर्यो ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङले उत्तम बोगटीलाई ६–३, ६–१ र चन्द्र शाहीले मनोजविक्रम शाहलाई ६–३, ७–५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे ।
४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६–१, ६–० ले र रोहित सुनुवारले मानबहादुर कटुवाललाई ६–२, ६–१ ले हराएर फाइनलमा स्थान सुरक्षित गरे ।
५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले प्रेम थापा र रमेश रोक्काको जोडीलाई ६–१, ६–३ तथा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले राम राणा र सागर बिसीको जोडीलाई ७–६, ६–१ ले हराउँदै फाइनलमा भिडन्त तय गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणाको जोडीले फादर म्याथ्यु र प्रेम थापाको जोडीलाई ६–२, ६–१ ले पराजित गरी फाइनल सुरक्षित गर्यो ।
६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ विजेता भए । उनले फाइनलमा भिक्टर राणालाई ६–२, ६–३ ले हराए ।
