पन्जाबको प्रभाव, चेन्नई बाहिर

युजभेन्द्र चाहलको ह्याट्रिक विकेट, श्रेयसको कप्तानी इनिङ्समा पन्जाबलाई सफलता 

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

Influence of Punjab, outside Chennai

चेन्नई — युजभेन्द्र चाहल र कप्तान श्रेयस ऐरको उच्च प्रदर्शनमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । यो नतिजापछि ५ पटकको च्याम्पियन चेन्नई यस सिजन प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

साम करनले ४७ बलमा ८८ रन बनाएपछि चेन्नई मजबुत स्कोरतर्फ अगाडि बढेको थियो । तर, चाहलले चेपकमा १९ औं ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएपछि टस हारेर पहिलो ब्याटिङमा आएको चेन्नई १९.२ ओभरमा १ सय ९० रनमै अलआउट भयो ।

साइक रशिद ११, आयुष मात्रे ७ र रवीन्द्र जडेजा १७ रनमा आउट भए । त्यसपछि करनले डेबाल्ड ब्रेभिससँग चौथो विकेटमा ७८ रनको साझेदारी गरे । करनले ९ चौका र ४ छक्का प्रहार गरे । ब्रेभिसले २६ बल खेल्दै ४ चौका र १ छक्कासहित ३२ रन बनाए । शिवम दुबे ६, कप्तान महेन्द्रसिंह धोनी ११, दीपक हुडा २ रनमा आउट भए ।

आईपीएलमा आफ्नो दोस्रो ह्याट्रिक विकेट लिएका चाहलले १९ औं ओभरमा आफ्नो तेस्रो ओभरको अन्तिम ३ बलमा क्रमशः हुडा, अंशुल कम्बोज र नुर अहमदलाई लगातार बलमा आउट गरे । उनले सोही ओभरको दोस्रो बलमा महेन्द्रसिंह धोनीलाई आउट गरेका थिए । चाहलले ३ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिएका हुन् । अर्शदीप सिंह र मार्को यान्सेनले २–२ तथा अजमतुल्लाह ओमारजाई र हरप्रित बरारले १–१ विकेट लिए ।

ऐरले ४१ बलमा ७२ रन बनाएपछि पन्जाबले २ बलअगाडि विजय लक्ष्य पूरा गर्‍यो । प्लेयर अफ द म्याच उनले ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर प्रियांश अर्या १५ बलमा ५ चौका प्रहार गरी २३ रनमा आउट भए । अर्का ओपनर प्रभसिमरन सिंहले ऐरसँग दोस्रो विकेटमा ७२ रनको साझेदारी गरे । प्रभसिमरनले ३६ बल खेल्दै ५ चौका र ३ छक्कासहित ५४ रन बनाए ।

पन्जाबलाई विजयका लागि थप २ रन चाहिएको समयमा ऐर १९ औं ओभरमा आउट भए । शशांक सिंहले १२ बल खेल्दै १ चौका र २ छक्कासहित २३ रन बनाए । चेन्नईबाट खालिल अहमद र माथिस पाथिरानाले २–२ तथा जडेजा र नुरले १–१ विकेट लिए । पन्जाब यस विजयपछि १३ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ । रोयल च्यालेन्जर्स बेंगलुरु १४ अंकसहित शीर्षस्थानमा छ । चेन्नई १० खेलमा आठौं पटक पराजित भएको हो । टोली पुछारमा रहेको छ ।

कान्तिपुर

Link copied successfully