च्याम्पियन्स लिग : पीएसजी एक कदम अगाडि

वैशाख १८, २०८२

रोयटर्स

Champions League: PSG one step ahead

लन्डन — मिखेल आर्टेटा मान्छन्, आर्सनललाई युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्नु छ भने केही विशेष गर्न आवश्यक हुनेछ । आर्सनल मंगलबार घरमै भएको सेमिफाइनल पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को हातबाट १–० ले पराजित रह्यो ।

अब दोस्रो लेगको खेल अर्को साता हुनेछ । इमिरेट्स स्टेडियममा भएको खेलको सुरुआती २५ मिनेटमा पीएसजीले आर्सनललाई माथ दिएको थियो । ओसमन डेम्बेलेले निर्णायक गोल गरेका थिए । 

त्यसपछि घरेलु टिमको प्रदर्शनमा सुधार त आयो, तर गोल फर्काउन सकेन । मिखेल मेरिनाले दोस्रो हाफमा गरेको गोललाई भने अफसाइड करार गरिएको थियो । पीएसजी गोलरक्षक जियानलुइगी डोनारुमाले पनि केही उत्कृष्ट बचाउ गरे । 

जतिबेला फ्रान्सेली राजधानीमा दोस्रो लेगको खेल हुनेछ, फ्रान्सेली च्याम्पियन अलिकति फाइदाको स्थितिमा हुनेछ । खेलपछि आर्टेटाले भने, ‘हामी खेलको मध्यान्तरमै मात्र पुगेका छौं ।’ आफ्नो खेलजीवनमा केही छोटो समय आर्टेटाले पीएसजीमा पनि बिताएका थिए । 

‘जतिबेला हामी पेरिस जानेछौं, त्यतिबेला हामीलाई जित आवश्यक हुनेछ । हामी यो कामलाई मज्जाले सक्षम छौं । आर्सनल र पीएसजी दुई राम्रा टिम हुन् । यिनीहरूबीच धेरै ठूलो भिडन्त केही पनि छैन । यदि हामीलाई फाइनल पुग्नु छ भने साँच्चै दोस्रो लेगमा केही विशेष नै गर्नुपर्नेछ ।’ 

सन् २००९ मा म्याचेस्टर युनाइटेडसँग पराजित भएपछि आर्सनल पहिलो पटक सेमिफाइनल पुगेको हो । त्यसक्रममा आर्सनलले क्वाटरफाइनलमा साबिक विजेता रियल म्याड्रिडलाई समग्रमा ५–१ ले पराजित गरेको थियो । आर्सनल सन् २००६ यता पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा एकपल्ट मात्र पुगेको थियो । त्यतिबेला टोली बार्सिलोनासँग हारेको थियो । 

इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई सुम्पिसकेको स्थितिमा आर्सनलका लागि च्याम्पियन्स लिग नै एकमात्र सम्भावना कायम रहेको प्रतियोगिता हो । सन् २०२० को एफए कपयता आर्सनलले कुनै पनि उपाधि जित्न सकेको छैन । पीएसजी प्रशिक्षक लुइस एनरिकेले भने 

आफ्नो टिमको प्रदर्शनमा सन्तुष्ट छन्, तर अर्को साताको खेलअघि धेरै हुन आवश्यक नभएको मान्छन् । ‘आर्सनललाई उसकै घरमा हराउँदा हाम्रा खेलाडी मानसिक रूपमा कति बलिया छन् भने देखाएका छन्,’ उनको भनाइ थियो । 

जतिबेला पेरिसमा खेल हुनेछ, त्यतिबेला पीएसजीलाई फाइनल प्रवेशका लागि बराबरी नै पर्याप्त हुनेछ । सन् २०१५ मा बार्सिलोनालाई च्याम्पियनस लिग जिताएका एनरिकेले पीएसजी अहिलेको स्थितिमा धेरै भावुक हुन नहुने मान्छन् । ‘अब हामीले आफ्नै समर्थक अगाडि निकै सुझबुझ तरिकाले खेल्नुपर्नेछ । तय छ, यो खेल सजिलो हुने छैन, तर हामी यसका लागि तयार छौं । हामीलाई आफ्नो स्वाभाविक खेल प्रदर्शन गरे पुग्नेछ ।’ 

उक्त खेलमा पीएसजीको चाहना हुनेछ, डेम्बेले फिट रहोस् । उनी पहिलो लेगमा चोट बोक्दै दोस्रो हाफमा मैदान छाड्न बाध्य रहेका थिए । लिग चरणमा आर्सनलको हातबाट पीएसजी पराजित हुँदा उनलाई अनुशासनको कारबाही गरिएको थियो ।

पछिल्लो समय उनी लयमा छन् । यो सिजन सबैखाले प्रतियोगितामा गरेर उनले ३३ गोल गरिसकेका छन् । यी गोलमध्ये पनि २८ त डिसेम्बरको मध्यभागपछि निस्केको थियो । ‘डेम्बेलेले खेल्नेछन् भने त्यो त राम्रै भयो,’ एनरिके मान्छन् ।

रोयटर्स

Link copied successfully