प्रशिक्षक मनीष ओझाका अनुसार सानोमै वैभव छक्का र चौका प्रहार गर्न माहिर थिए
काठमाडौँ — सचिन तेन्दुलकरको भनाइ थियो, ‘साह्रै राम्रो खेलेको हो ।’ युवराज सिंहले उल्टै प्रश्न गरे, ‘यो १४ वर्षको उमेरमा के गरेको यो ?’ रोहित शर्माले यति मात्र भने, ‘उच्च स्तर’ । उनीहरू सबैले प्रशंसा गरेका खेलाडी हुन्, वैभव सूर्यवंशी ।
त्यसो त सबैले प्रशंसा गर्ने भनेको तेन्दुलकरको थियो । उनी आफैंले भने अरूको धेरै प्रशंसा गर्दैनन् । यस्तोमा वैभव असाध्यै भाग्यमानी नै रहेभन्दा हुन्छ । यदि तेन्दुलकरले कसैबारे केही भन्छ भने त्यो विशेष नै हुन्छ । सिंह र शर्मा पनि दिग्गज नै हुन् ।
भयो के भन्दा इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार जयपुरमा खेल भएको थियो गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच । गुजरातले पहिले ब्याटिङ गर्दै ४ विकेटमा २ सय ९ रन बनाएको थियो । जवाफमा राजस्थान ८ विकेटले सजिलै विजयी रह्यो । टोलीले १५.५ ओभरमात्र उपयोग गरेर २ विकेटमा २ सय १२ रन बनायो ।
यो सबै सम्भव भएको थियो, सूर्यवंशीको १ सय १ रनको मदतमा । त्यो पनि ३८ बलमा । शतक नै बनाउन उनले ३५ बलमात्र उपयोग गरे । रसिद खानको बलमा छक्का प्रहार गर्दै उनले यो उपलब्धि हासिल गरेका थिए । आक्रामक ब्याटिङको नमुनाले हद नाघेको थियो ।
यस्तोमा उनी ट्वान्टी–२० क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आईपीएलमै पनि उनी भारतको तर्फबाट दोस्रो सबैभन्दा तीव्र गतिमा शतक बनाउने खेलाडी बने । वैभवले ७ चौका र ११ छक्का प्रहार गरे । यी त भए तथ्यांकका कुरा । खासमा उनको बढी चर्चा किनभन्दा उनी भर्खर १४ वर्षका भए । साँच्चै १४ वर्षका । त्यसैले त सिंहले पनि अचम्म मान्दै भनेका हुन्, ‘यिनी त बच्चै छ, तर विश्वकै नामी बलरलाई गाह्रो पारे ।’
वैभवको चर्चा सुरु भएको भने अहिले होइन । उनलाई राजस्थानले खेलाडी ‘अक्सन’ एक करोड भारुभन्दा बढीले किनेको थियो । त्यही बेला भन्न सुरु भएको थियो, सबैभन्दा कान्छा करोडपति भनेर । राजस्थानले केही देखेर त यति खर्चेको हुनुपर्छ यी किशोरमा । कुरा यत्तिकैमा सकिन्न । आखिरमा यी खेलाडीले प्रमाणित गर्नुपर्ने त मैदानमै थियो । जयपुरमा भएको खेलमा उनले यही काम गरे । यस्तोमा अब सबैले भन्न थालेका छन्, यी हुन् भारतीय क्रिकेटको ‘नेक्स्ट बिग’ ।
भन्ने गरिन्छ, भारततिर आफ्ना सन्तानलाई क्रिकेटमा सफल बनाउन तिनका अभिभावकले सक्दो सबै गर्छन् । यो त लगानी जस्तै हो, खाली कुरा के भन्दा सबै सफल हुँदैनन् । वैभवलाई पनि यहाँसम्म पुर्याउन उनको बुवाले के मात्र गरेनन् भन्दा हुन्छ । उनको यात्रा सुरु भएको थियो, बिहारको समस्तीपुरबाट । समस्तीपुरको पनि सानो गाउँ ताजपुर । उनका बुवा हुन्, सन्जीव सूर्यवंशी । उनको पेसा थियो कृषि अनि सौखिन खेलाडी ।
क्लबस्तरसम्म पुगेका खेलाडी । गाउँमा खेलाडी हुनका लागि सबैखाले सुविधा थिएन । त्यसैले बुवाले जग्गा बेचेरै आफ्नो घरबाट सय किलोमिटरभन्दा टाढा वैभवलाई प्रशिक्षणका लागि पटना पठाए । वैभव भर्खर १० वर्षका थिए । त्यही बेला नै उनले चमत्कारी प्रदर्शन गर्न सुरु गरिसकेका थिए । आफूभन्दा बढी उमेरका खेलाडीसँग खेल्थे । दिनकै ६ सय बलभन्दा बढी सामना गर्थे । अहिले त्यो मिहिनतले रंग देखाउन सुरु गरेको मात्र भन्दा हुन्छ ।
वैभवले तय गरेको यात्रा आफैंमा कहिले पनि छोटो रहेन । एउटा तथ्य साँचो के हो भने उनले असाध्यै कम उमेरमै सबथोक देख्न पाए । सानोमा उनका प्रशिक्षक थिए मनीष ओझा । वैभवसँगै अहिले उनी पनि चर्चामा छन् । उनी आफैं पनि आफ्नो शिष्यको प्रशंसा गर्न बिर्संदैनन् । ओझा के मान्छन् भने वैभव सानैदेखि ठुल्ठूला ‘शट’ प्रहार गर्न माहिर थिए । त्यो पनि असाध्यै शक्तिशाली । उनले के पनि भनेका छन् भने वैभव सिक्न भनेपछि जहिल्यै अगाडि हुन्थे ।
सानो संकेत मात्र दिनुपर्थ्यो, उनी सबथोक बुझिहाल्थे । खासमा उनी सबै प्रशिक्षकले सपनामा देख्ने खेलाडी जस्तै थिए । एकपल्ट तिनै वैभवले उनै ओझासामु एउटा प्रश्न गरेछन्, ‘छक्का नै प्रहार गर्न सकिन्छ भने एक रनमा के लोभ गरिरहने ?’
यी प्रशिक्षकलाई राम्रोसँग सम्झना छ, वैभव लगभग सबै जस्तो बलमा सके छक्का र नसके चौका प्रहार गर्थे । जयपुरमा खेल भएको मैदान थियो सवाई मानसिंह स्टेडियम । त्यहाँ उनले प्रहार गरेका केही छक्काले ८५ देखि ९० मिटरको दूरी नाघेको थियो ।
अझ केही त रंगशालाको छानातिरै पुग्थे । एक प्रकारले छक्काको वर्षा नै भएको थियोभन्दा हुन्छ । त्यतिबेला उनले सामना गरेका बलर थिए खानसँगै इशान्त शर्मा, मोहम्मद सिराज र वासिङ्टन सुन्दर । आईपीएलको तेस्रो खेल आइपुग्दा नै उनले शतक बनाएका हुन् । तय छ, वैभवको चर्चा सजिलै सेलाउने छैन । हो, उनले एउटा कुरामा भने हेक्का राख्नुपर्छ । सानो उमेरमै राम्रो खेलेर प्रशंसा लुट्ने अरू पनि खेलाडी छन् । त्यसमध्ये धेरै हराएरै गए । वैभव हराउनुहुन्न । उनी ‘लामो रेसका घोडा’ हुनुपर्छ ।
