काठमाडौँ — नेपाल हक्की संघको आयोजनामा पहिलो पटक राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने भएको छ । संघको वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की हुनेछ । यस्तै वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की हुन लागेको हो । प्रतियोगिताका खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछन् ।
पुरुषमा ८ तथा महिलामा ४ टिमले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा मधेश प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश बागमती प्रदेश, नेपाल पुलिस क्लब र एपीएफ क्लब सहभागी हुनेछन् । पुरुषमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउट आधारमा हुने भएको छ ।
महिलामा सहभागी हुने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ । आइतबार पत्रकार सम्मेलन गर्दै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताबारे जानकारी दिएकी हुन् ।
