लिभरपुल — लिभरपुल आइतबार कीर्तिमान २० औं पल्ट इंग्लिस प्रिमियर लिग च्याम्पियन भएको छ र आफ्नै घरेलु मैदानमा त्यसको खुसियाली मनाएको छ । उसले एनफिल्डमा टोटनहमलाई ५–१ ले हराएपछि इंग्लिस प्रिमियर लिग जित्ने निश्चित भएको हो । लिभरपुलले चार खेल अगाडि नै लिग उपाधि जित्ने निश्चित भएको हो ।
उपाधि जित्नका लागि आर्ने स्लटको टिमलाई एकै अंक मात्र आवश्यक थियो । लिभरपुलको अब ८२ अंक भएको छ र यो दोस्रोमा रहेको आर्सनलमाथि १५ अंकको अग्रता हो । अब लिगका बाँकी खेलमा जस्तै नतिजा आएपछि लिभरपुललाई कसैले उछिन्न सक्ने छैन । लिभरपुलले सन् १९९० यता पहिलो पटक घरमा उपाधि जितेको खुसियाली मनाउन पाएको हो ।
यससँगै लिभरपुलले इंग्ल्यान्डमा सबैभन्दा बढी २० पल्ट उपाधि जितेको पारम्परिक प्रतिद्वन्द्वी कीर्तिमान म्यानचेस्टर युनाइटेडसँग बराबरी गरेको हो । टोटनहमले १२ औं मिनेटमा डोमिनिक सोलान्कीको गोलले अग्रता लिएको थियो । तर यो क्षणिकजस्तै मात्र रह्यो । लुइस डियाजले १६ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसयता एकपक्षीय रूपमा लिभरपुलको पक्षमा रह्यो । एलेक्स म्याकएलिस्टरले २४ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
कोडी गाक्पोले ३४ औं मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । दोस्रो हाफको ६३ औं मिनेटमा मोहमद सलाहले गोल गरे र आफ्नो संक्षिप्त गोल खडेरीलाई तोडे । डेस्टिनी युडोगीले ६९ औं मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता अझ फराकिलो भएको थियो । लिभरपुलले अन्तिम पटक कोरोना भाइरस संक्रमणको महामारीका बेला उपाधि जितेको थियो ।
त्यस अगाडि आइतबारको पहिलो खेलमा दस खेलाडीमा सीमित बर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेले । युनाइटेडका लागि दोस्रो हाफको इन्ज्युरी समयमा रसमस होजलन्डले बराबरी गोल गरे र टिम एक अंक बटुल्न सफल रह्यो । यसअघि एन्टोनी सेमेन्योले २३ औं मिनेटमा गरेको गोलको मद्दतले अग्रता लिएको थियो ।
खेलले ७० औं मिनेट छुँदा बर्नमाउथले रातो कार्डमा इभानिल्सनलाई गुमाएको थियो । यो नतिजापछि बर्नमाउथ ५० अंकमा दसौं स्थानमा रह्यो । बराबरीले अर्को सिजन युरोपमा खेल्ने बर्नमाउथको सम्भावनामा पनि ठूलो आघात पुगेको छ । युनाइटेड भने ३९ अंकमा १४ औं स्थानमा रहेको छ ।
