बार्सिलोनालाई कोपा डेल रे उपाधि

वैशाख १५, २०८२

एएफपी

Barcelona won the Copa del Rey

सेभिया — डिफेन्डर जुलेस कोन्डेले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलको मद्दतले बार्सिलोनाले शनिबार रियल म्याड्रिडलाई ३–२ ले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ । फाइनल आफैंमा सनसनीपूर्ण अल क्लासिको खेल भने रह्यो । 

यो सिजन बार्सिलोनासामु चार उपाधि जित्ने सम्भावना कायम रहेको छ र यसमध्ये पहिलो उपाधि यही कोपा डेल रे रह्यो । बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा जितेको यो पहिलो उपाधि पनि हो ।

यस्तै बार्सिलोनाले जितेको यो कीर्तिमान ३२ औं स्पेनी कपको उपाधि हो । फाइनल खेल समाप्तिपछि पनि तनाव भने सकिएन र रियलका तीन खेलाडीले रातो कार्ड पाए, त्यसमा एक इंग्लिस खेलाडी जुड बेलिङ्घम पनि रहे ।

पेड्रीले खेलको पहिलो गोल गरे र बार्सिलोना अगाडि रहेको थियो । तर दोस्रो हाफमा सात मिनेटको अन्तरमा रियलले दुई गोल गरेको थियो । त्यसमा केलिएन एमबापे र एरेलिन चोउमेनीको एक–एक गोल रह्यो । फेरानले ८४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए र प्रतिस्पर्धा अतिरिक्त समयमा गएको थियो । त्यसमै कोन्डेले निर्णायक गोल गरे ।

अब बार्सिलोनाले बुधबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानको सामना गर्दै छ । ‘कम्तीमा आजको रात उनीहरूले खुसियाली मनाउन पाउने छन्,’ फ्लिकले पछि प्रतिक्रिया दिए । निर्णायक गोलकर्ता कोन्डेले भने रियलले कडा चुनौती पेस गरेको स्विकार्दै भने, ‘तर हामीले आफ्नो वास्तविक खेल देखायौं ।’

एन्सेलोटी ब्राजिल जाँदै

सन् २०२६ को विश्वकप छनोट अगाडि जुनमा प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिली टिम सम्हाल्ने सम्भावना रहेको छ । यसका लागि दुवै पक्षबीच छलफल चलिरहेको छ । कोपा डेल रेको फाइनलपछि प्रतिक्रिया दिँदै एन्सेलोटीले रियलमा आफ्नो भविष्यबारे केही पनि भन्न नसकिने प्रतिक्रिया दिएका थिए ।

ब्राजिली फुटबलका प्रतिनिधि त्यस खेल हेर्न स्पेन पुगेका थिए र उनीहरूले एन्सेलोटीसँग थप कुराकानी गर्नेछन् । यस्तोमा इटालीका यी प्रशिक्षकले यो सिजनको अन्त्यसँगै रियल छाड्ने छन् र नयाँ चुनौतीका रूपमा ब्राजिली राष्ट्रिय टिम सम्हाल्ने छन् । खराब प्रदर्शनका कारण अहिले ब्राजिली टिम आलोचनाबाट गुज्रिरहेको छ ।

एएफपी

Link copied successfully