‘नेपाली फुटबलको विकासका लागि एनएसएल जस्तो प्रतियोगिता चाहिन्छ र यसलाई अझ विस्तार र व्यवस्थित बनाउनुपर्छ’
काठमाडौँ — फ्रेन्चाइज फुटबलको उपाधि जित्ने सूत्र सायद ललितपुर सिटी एफसीले तयार पारेको छ । त्यसैले सिटीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि मात्र जितेन, त्यसको रक्षा पनि गर्यो । अझ पूरा प्रतियोगितामै कुनै खेल पनि गुमाएन ।
जतिबेला नेपालको लिग फुटबलकै कुरा चल्नेछ, कहीं कतै न कतै ‘इन्भिन्सिबल’ ललितपुरको प्रसंग आउने छ । अनि ललितपुरले तयार पारेको सूत्र हो, राम्रो व्यवस्थापन त भयो नै । सँगै खेलाडी र प्रशिक्षकलाई पनि खुसी राख्न सक्नुपर्छ ।
‘उपाधि जित्नु मात्र होइन, त्यसको रक्षा गर्नु ठूलै उपलब्धि रह्यो,’ ललितपुरले लगातार दोस्रोपल्ट उपाधि जित्दाका सारथि कप्तान अनन्त तामाङले भने । ‘क्याप्टेन फ्यान्टास्टिक’ को तर्क थियो, ‘यो सबै राम्रो व्यवस्थापनले नै सम्भव भएको हो, खेलाडीले खेलेर मात्र पनि हुन्न ।’ प्रशिक्षक साइमन ग्रेसन पनि के कम ? उनले पनि आफ्नो टिमका व्यवस्थापनलाई धन्यबाद दिन बिर्सेनन् अनि यो सबैको श्रेय उनले आफूभन्दा पनि खेलाडीलाई दिन चाहे ।
खेलाडी र प्रशिक्षकका रूपमा ४० वर्षभन्दा लामो समय बिताइसकेका ग्रेसनले मिडियासामु प्रस्तुत हुने क्रममा भने, ‘मैले धेरै फुटबल देखेको छु, यसबीच पनि यो सफलता मेरा लागि विशेष रहनेछ । म नेपाल आएको उपाधि जित्नकै लागि हो । ७–८ साता जति समय मैले यहाँ बिताएँ होला । म नेपाली खेलाडीको प्रदर्शनबाट प्रभावित छु । मुख्य कुरा नेपाली फुटबलको विकासका लागि यस्तो प्रतियोगिता चाहिन्छ र यसलाई अझ विस्तार र व्यवस्थित बनाउनुपर्छ ।’
बायाँबाट क्रमशः सर्वोत्कृष्ट खेलाडी पोखरा थन्डर्सका आयुष घलान, उत्कृष्ट गोलरक्षक पोखराका प्रिसो, सर्वाधिक गोलकर्ता धनगढी एफसीका अहमद हिजाजी, इनर्जेटिक प्लेयर ललितपुर सिटीका मणि लामा र इमर्जिङ प्लेयर ललितपुरकै सन्तोष खत्री । आयुषले २ लाख ५० हजार, प्रिसो र हिजाजीले समान १ लाख ५० हजार तथा मणि र सन्तोषले १–१ लाख रुपैयाँ व्यक्तिगत पुरस्कार पाए । च्याम्पियन ललितपुरले ८० लाख र उपविजेता पोखराले ३० लाख रुपैयाँ पुरस्कार जित्यो ।तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
११ खेलको अपराजित यात्रा
ललितपुरले सायद हार्न बिर्सेको छ । त्यसैले त यो टिमले नहारेको खेलसंख्या ११ पुगेको छ । फुटबलमा जसले हार्न जान्दैन, जित्ने उसैले हो । ‘प्रतियोगितामा केही उतारचढाव आए होलान्, तर हामी उपाधिको हकदार नै थियौं । ललितपुरको प्रदर्शनमा मलाई असाध्यै धेरै खुसी र गर्व छ,’ ग्रेसनले थपे । दोस्रो सिजन लिग चरणपछि लगातार तीन खेल जितेर ललितपुरले उपाधि उचालेको थियो । यसपल्ट टोलीको उपाधि यात्रा त्यो भन्दा पनि बढी सुमधुर र उत्कृष्ट रह्यो ।
दशरथ रंगशालामा भएको फाइनलमा ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजिकेल र पापा इबोउ केबेले गोल गरे । पोखराबाट सुदील राईले एक गोल फर्काए । पहिलो हाफ अनपेक्षित रूपमा निराशाजनक रह्यो । त्यसकै अन्त्यतिर इजिकेलले गोल गरेपछि खेलमा रोमाञ्च फर्केको थियो । खेलले ४२ मिनेट छुँदा इजिकेलले मनोज राईको पासमा हेड गर्दै गोल गरे । एनएसएलमा उनको यो नवौं गोल हो । उनी पनि सर्वाधिक गोल गर्ने सूचीको शीर्षमा रहे । सुदीलले ६४ औं मिनेटमा बराबरी गोल फर्काए ।
स्टेफन समीर विनोङको प्रहार ललितपुरका गोलरक्षक जेफरी विल्लीले रोके पनि त्यसमै फर्केको बलमा सुदीलले गोल गरेका थिए । निर्णायक गोल भने ७५ औं मिनेटमा सम्भव भयो । इजिकेलले तौलेर र नापेर निकालेको मीठो पास नियन्त्रणमा लिँदै केबेले गोल गरे । गोलको मामिलामा यसपल्ट विदेशी खेलाडीकै बाहुल्य रह्यो । ललितपुरका कप्तान अनन्तको धारणा पनि रह्यो, ‘गत सिजनको तुलनामा यसपल्टका विदेशी खेलाडीको प्रदर्शन राम्रो रह्यो । उनीहरूसँग नेपाली खेलाडीहरूले केही न केही सिक्ने अवसर पाएका छन् ।’
‘विनिङ मेन्टालिटी’ को अभाव
उप–विजेतामै सीमित हुनुपरेको भएता पनि पोखरालाई गुनासो पनि थिएन । टोलीका लागि फाइनल पुग्नु नै आफैंमा ठूलो रह्यो । लिग चरणमा सुरुआती दुई खेल हारेपछि पोखराले लगातार राम्रो प्रदर्शन गर्दै फाइनलसम्म यात्रा तय गरेको थियो । तर यो प्रदर्शन उपाधि जित्नकै लागि भने पर्याप्त रहेन । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित पोखराका आयुष घलानले आफ्नो टिमको हारलाई लिएर सटिक विश्लेषण गरे । उनको परिपक्व भनाइ थियो, ‘फाइनल खेल्न विनिङ मेन्टालिटी नै चाहिने रहेछ, आजको खेलमा हामीमा यो अभाव रह्यो ।’
प्रशिक्षक सुमन श्रेष्ठका लागि पनि फाइनलसम्मको यात्रा व्यक्तिगत रूपमा उत्कृष्ट नै रह्यो । उनले यात्रालाई सुखद नै माने । उनको भनाइ थियो, ‘हामी पराजित रह्यौं, तर प्रतियोगितामा हाम्रो प्रदर्शन राम्रै रह्यो । मैले दोहोर्याएर भनें, प्रतियोगिता अगाडि बढ्दै जाँदा हाम्रो प्रदर्शन अझ राम्रो हुँदै गयो ।’ उनले ललितपुरलाई उपाधि जितेकोमा बधाई दिन पनि कन्ज्युस्याइँ गरेनन् । उनले ठ्याक्कै भनेनन्, तर उनको भनाइको निचोड पनि थियो, ललितपुर नै प्रतियोगिताको वास्तविक विजेता हो ।
