नेपाली क्रिकेटमा चुनौती र अवसर दुवै छन् : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल

वैशाख १३, २०८२

न्युज एजेन्सी नेपाल

There are both challenges and opportunities in Nepali cricket: Newly appointed coach Stuart Law

काठमाडौँ — नेपाल क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपाली क्रिकेटमा चुनौती र अवसर दुवै रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालमा क्रिकेट विकासको ठूलो सम्भावना देखेर आएको उल्लेख गरे।

उनले नेपाल एसोसिएट राष्ट्रहरूमध्ये प्रतिस्पर्धी टोली भएको बताए। उनले भने, 'अझै केही पक्षमा सुधार आवश्यक रहेको छ । ती कुराहरूमा सुधार गरेर नेपालि क्रिकेटलाई सकेको योगदान दिनेछु ।'

गत वर्ष डालसमा अमेरिकासँग नेपाली टोलीले खेलेको बेला नै उनले नेपाली खेलाडीहरूको क्षमता र क्रिकेटप्रतिको गहिरो लगाव देखेको अनुभव सुनाए। त्यही बेला नेपालमा काम गर्ने प्रेरणा पैदा भएको उनले उल्लेख गरे।

लले अहिले ५३ खेलाडीलाई समेटेर चलाइएको क्लोज क्याम्प र अभ्यास खेलमार्फत टोलीको स्तर र सम्भावनाबारे बुझ्न सकिने बताए। उनले नेट सेसनभन्दा प्रतिस्पर्धात्मक खेलमा खेलाडीको क्षमता, मानसिक अवस्था र खेलप्रतिको चेतनाबारे राम्रोसँग मूल्यांकन गर्न सकिने बताए।

उनले खेलाडीहरूले मैदानमा आफैँ निर्णय लिन सक्ने बनाउने लक्ष्य राखेको र प्रशिक्षकको भूमिका खेलाडीलाई त्यसका लागि तयार पार्ने मात्र रहेको धारणा व्यक्त गरे।

क्याम्पमा सहभागी खेलाडीहरूमध्येबाट अन्तिम टोली छनोट तुरुन्तै नगर्ने पनि उनले स्पष्ट पारे।

न्युज

Link copied successfully