एनएसएल : सानदार फाइनल हुने अपेक्षा

नेपाल सुपर लिगको तेस्रो संस्करणका लागि साबिक विजेता ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दै

वैशाख १३, २०८२

हिमेश

NSL: Expected to be a great final

काठमाडौँ — अनन्त तामाङले नयाँ इतिहास लेख्न सक्नेछन् । यदि ललितपुर सिटी एफसीले शनिबार नेपाल सुपर लिग (एनएसएल) जित्छ भने । दोस्रो सिजन पनि ललितपुरले उनकै नेतृत्वमा उपाधि जितेको थियो । यसपल्ट पनि उनी नै कप्तान छन् । अनन्तले त्यसअघि सहिद स्मारक लिग ‘ए’ डिभिजन पनि जितेका थिए चर्च ब्वाइजबाट । हुनसक्छ, यी नेपाली डिफेन्डरसँग लिग जित्ने कुनै सूत्र । के साँच्चै त्यस्तो सूत्र छ त ?

‘छैन, यो कोही कसैको व्यक्तिगत प्रदर्शनले सम्भव पनि हुन्न । मेरो अनुभवमा सबैभन्दा ठूलो टिम एकता हो, टिमलाई सम्हाल्ने ठीक व्यवस्थापन हो,’ अनन्त भन्छन् । धेरैको के अनुभव छ भने सम्भवतः एनएसएलमा कुनै एउटा फ्रेन्चाइज टिमलाई साँच्चै राम्रोसँग हाँक्ने काम भएको छ भने त्यो ललितपुर नै हो । त्यसो भए के यही टिमले यसपल्ट पनि उपाधि जित्छ त ? कम्तीमा कागजमा त डिफेन्डिङ च्याम्पियन टिम नै बलियो छ । 

‘तर फुटबलमा राम्रो टिमले नै जित्नुपर्छ भन्ने छैन,’ ललितपुरकै प्रशिक्षक साइमन ग्रेसन मान्छन्, ‘मुख्य कुरा उपाधि जित्न सक्दो राम्रो प्रयास गर्ने हो । ललितपुर फाइनललाई पूरा तयार छ । पोखरा पनि बलियो टिम हो, त्यसैले फाइनल प्रतिस्पर्धात्मक हुनेछ । यो खेल जित्न कसैलाई पनि सजिलो हुने छैन ।’ 

एउटा अर्थमा एनएसएलको तेस्रो सिजन भाग्यमानी छ, किनभने यसले फाइलनमा त्यस्ता दुई टिम पाएको छ, जसलाई यो प्रतियोगिताकै राम्रो मान्न सकिन्छ । 

फुटबलमा एउटा शब्दको ठूलो महत्त्व छ त्यो हो, ‘इनभिजिबल’ । अर्थात कुनै खेल नै नगुमाएर यो लिग जित्ने । यही अवसर छ ललितपुरसामु । अझ तीन सिजन मात्र पुरानो यो प्रतियोगिताको इतिहासमै ललितपुर सबैभन्दा राम्रो लयबाट गुज्रिरहेको छ । त्यसमा १० खेलको सानदार अपराजित यात्रा छ । ललितपुर त्यही टिम हो, जसले लिग चरण समाप्तिमा शीर्षस्थान हात पार्‍यो र पहिलो क्वालिफायरमा धनगढी एफसीलाई मज्जाले हरायो । 

अब ललितपुरको प्रतिद्वन्द्वीका कुरा । पोखरा थन्डर्स आफैं पनि लयमै छ । पोखराको लय अझ विशेष र उच्च छ । लिग चरणका सुरुआती दुई खेल गुमाएपछि पोखरा एकाएक बलियो भएको छ । ‘प्रत्येक पाइलामा हामी राम्रो हुँदै छौं,’ पोखराका प्रशिक्षक सुमन श्रेष्ठ भन्छन् । पोखरा पछिल्ला ६ खेलमा अपराजित छ । यी सबै खेलमा टोलीले एकै गोल खाएको छ । बाँकी ५ खेलमा क्लिन सिट । अझ झापासँग खाएको एकै गोल पनि फ्रिकिकबाट हो । 

यस्तोमा पोखराले ‘ओपन प्ले’ बाट गोल नखाएको ५ सय ६५ मिनेट भइसकेको छ । संयोगले पोखरा अन्तिम पटक पराजित भएको पनि लिग चरणमा ललितपुरसँग नै थियो । यो खेलमा पोखरा पराजित त रह्यो, तर मैदानमा जस्तो प्रदर्शन भएको छ, त्यसले टिमलाई एउटा ‘मोमेन्टम’ दियो र टिमको प्रदर्शन साँच्चै झन झन राम्रो हुन थाल्यो । इलिमिनेटरमा एफसी चितवनलाई हराएपछि त प्रशिक्षक श्रेष्ठ कति धेरै उत्साही भए भने, ‘हाम्रो लक्ष्य त उपाधि नै हो अब ।’

पोखरा भाग्यमानी पनि रह्यो । दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई पनि हराउन सफल रह्यो । सायद ललितपुर जसरी ठोस व्यवस्थापनमा टिकेको छ, त्यस्तो पोखराको स्थिति छैन । प्रतियोगिता सुरु हुनुअगाडिसम्म यो फ्रेन्चाइज टिमको मालिक को हो, त्यसबारे अन्योल थियो । मालिक जोसुकै भए पनि यो टिमलाई हाँक्ने व्यवस्थापन टिम अर्कै थियो । यसप्रति धेरै हदसम्म नेपाली फुटबलको संस्थापन पक्ष सकारात्मक हुन सकेको थिएन, जुन स्वभाविक पनि हो । 

तर तिनै नयाँ मालिक र तिनले विश्वास देखाएको व्यवस्थापनले त्यसरी काम गर्‍यो कि टिमको प्रदर्शन अविश्वसनीय रह्यो । यसको भने प्रशंसा गर्न नै पर्छ । यति भन्दाभन्दै प्रशिक्षक श्रेष्ठ के मान्छन् भने अबको खेल फाइनल हो, त्यसैले यो सजिलो हुन्न । आफ्ना समकक्षी जस्तै उनी पनि मान्छन्, फाइनलमा जबरदस्त भिडन्त हुनेछ अनि जसले जित्नेछ, उसको भागमा पुग्नेछ ८० लाख रुपैयाँ । हार्नेले ३० लाख रुपैयाँमै चित्त बुझाउनुपर्नेछ । 

एक अर्थमा दुवै टिम लगभग उस्तै छन् । विदेशी खेलाडीको अपेक्षित प्रदर्शन भने लगभग यस्तै हुनेछ । एउटा पक्षमा भने ललितपुरलाई फाइदा छ । त्यो हो, पहिलो क्वालिफायरमा रातो कार्ड खाएर मैदान छाडेका मणिकुमार लामाले फाइनल खेल्न पाउनेछन् । रेफ्री उमेश बिडारीले गरेको एउटा गलत निर्णयले मणिप्रति अन्याय भएको थियो । तर, यो निर्णय मैदान बाहिर उल्टिएको छ । यो निर्णय ठिक थियो कि बेठिक, यसबारेको बहस कम्तीमा चाँडै सकिने भने छैन । 

ललितपुरलाई यो ठीक लाग्दो हो, अरूलाई नलाग्दो हो । रेफ्रीले गल्ती गर्छ नै, तर उनको मैदानमा भएको गल्ती बाहिरबाट फेर्न मिल्छ कि मिल्दैन, मिल्छ भने यो अरू स्थितिमा लागि लागू हुन्छ कि हुन्न ? यो अबको दिनमा चर्चाको विषय रहनेछ । ललितपुरका कप्तान अनन्त र प्रशिक्षक ग्रेसन दुवैले एकै स्वरमा यो निर्णय ठीक मानेका छन् । यसैबारे सोधिएको प्रश्नमा पोखराका प्रशिक्षक श्रेष्ठले भने ठ्याक्कै उत्तर दिन सकेनन् । उनी दुविधामा रहे । 

एउटा तथ्य के स्थापित भएको छ भने यो प्रतियोगिताले जन्माएका कुनै नायक छन् भने तिनै श्रेष्ठ हुन् । त्यसो त उनी नेपाली घरेलु फुटबलका लागि नयाँ होइनन्, दोहोरिएर ठोक्किने नाम नै हुन् । तर जसरी धनकुटाबाट उनले प्रशिक्षकको यात्रा तय गर्दै अहिलेको दिनसम्म आइपुगे, त्यसका लागि उनलाई प्रशंसा गर्नैपर्छ । कुनै दिन मोफसलमा बसेर उनले एनएसएल खेलाएको सपना देखेका थिए । अहिले उनकै टिम फाइनल पुगेको छ । नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा टिम उनकै लागि भए पनि फाइनल जित्न प्रेरित रहन सक्छ ।

हिमेश

Link copied successfully