काठमाडौँ — प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार कुमितेतर्फ पुलिस क्लबले तीन स्वर्ण थपेको छ । अघिल्लो दिन पनि पुलिसले ३ स्वर्ण जितेको थियो ।
महिला ४५ केजीतर्फ फाइनलमा पुलिसकी वर्षा बुढा मगरले एपीएफकी दीपा लामालाई ५–१ को स्कोरमा हराइन् । ६१ केजीमा पुलिसकी निरुपा दोङ तामाङ विजयी भइन् । उनले आर्मीकी रमिता माझीलाई १२–५ स्कोरमा पराजित गरिन् ।
पुरुष ६० केजीमा एपीएफका मीनबहादुर तामाङले स्वर्ण जिते । उनले फाइनलमा पुलिसका लिजन साउदलाई ९–२ स्कोरमा हराए । ५५ केजीमा आर्मीका एलोन श्रेष्ठ विजेता भए । उनले फाइनलमा आर्मीकै राहुल चौधरीलाई ८–३ अंकले पन्छाए ।
८४ केजीमा पुसिलका ईश्वरधन राई विजयी भए । उनले आर्मीका विकास खड्कालाई ९–४ ले हराए । ६७ केजीमुनि फाइनलमा एपीएफका प्रदीप मगरले आर्मीका किरण पुनलाई ११–६ को स्कोरमा हराए ।
महिला ६८ केजीमुनि आर्मीकी सनी तामाङले स्वर्ण जितिन् । फाइनलमा उनले लुम्बिनी प्रदेशकी गीता पवारलाई ५–३ ले हराइन् ।
यल कराते सितोरियो डोको आयोजना र बागमती प्रदेश खेलकुद विकास परिषदद्वारा प्रायोजित तीन दिने प्रतियोगितामा पुरुषमा ८६ र महिलामा ७५ खेलाडी प्रतिस्पर्धी छन् ।
