पर्सा — गढीमाई प्रिमियर लिग क्रिकेटमा बिहीबार सुधीर वारियर्सले अल्फा एभेन्जर्सलाई २ रनले पराजित गरेको छ । अल्फाले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङमा आएको सुधीर वारियर्सले पूरा १६ ओभर खेलेर ९ विकेट गुमाई ९८ रन बनायो ।
विवेक पटेलको सर्वाधिक योगदान रह्यो । उनले ३६ बलमा ३२ रन बनाए । अल्फाका भूषण पटेलले ३ विकेट लिए । अभिषेक महतो र अभय यादव २–२ विकेट लिए । जवाफी ब्याटिङ गर्ने क्रममा अल्फा ५ विकेट क्षतिमा ९६ रन मात्र जुटाउन सफल भयो । रवि यादवले ४० बलमा ४० रन र बिकी यादवले ३१ बलमा २२ रन बनाए । सुधीरका अंगुर आलमले ३, अलिराज र मोहम्मद सरिफले १–१ विकेट लिए । प्लेयर अफ द म्याच वारियर्सका अंगुर आलम भए ।
