काठमाडौँ — नेपाल एपीएफ क्लब आठौं केएनपी शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफले पूर्वविजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई २५–१७, २५–२२, २३–२५, २५–२३ को सेटमा पराजित गरेको थियो । एपीएफकी जसना महतो प्लेयर अफ द म्याच भइन् ।
न्यु डायमन्ड छैटौं संस्करणको उपाधि विजेता हो । बाँकी सबै संस्करणमा एपीएफ च्याम्पियन भएको छ । फाइनलमा एपीएफको भेट नेपाल पुलिस क्लबसँग हुनेछ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–६, २५–२२, २५–२३ को सोझो सेटमा हरायो । पुलिसकी पुनम चन्द प्लेयर अफ द म्याच चुनिइन् । फाइनल शनिबार हुनेछ ।
