नेपालगन्ज — पहिलो लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्ने छन् । फाइनल शुक्रबार नेपालगन्ज रंगशालामा हुँदै छ ।
फाइनलअघि बिहीबार प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षक आफ्नो टिम उपाधि हकदार भएको दाबी गरेका छन् । पुलिसका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टोलीका खेलाडी बाहुल्य रहे आफूहरू उपाधि जित्न तयार रहेको बताए । ‘विपक्षीका अधिकांश खेलाडीसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव छ, एपीएफ बलियो टिम हो । हामी पनि उपाधि जितकै लागि खेल्ने हो,’ उनले भने, ‘जित्ने रणनीति बनाएर नै खेल्ने हो ।’
कप्तान निरु थापाले आफ्ना टिमका सबै खेलाडीको प्रदर्शन राम्रो भएकाले उपाधि जित्नेमा ढुक्क भएको बताइन् । ‘एपीएफ बलियो टिम हो । तर हामी उपाधि जित्न सक्दो प्रयास गर्नेछौं ।’ मैदानको असजिलो अवस्था र नेपालगन्जको गर्मीमा पनि आफ्ना खेलाडीले निकै राम्रो खेल खेल्दा थप हौसला बढेको उनले बताइन् ।
२०७९ सालयता एपीएफलाई कुनै पनि टोलीले पराजित गर्न सकेको छैन । त्यतिबेला च्याम्पियन बनेको पुलिस पनि त्यसयता उपाधिविहीन छ । एपीएफले दुई पटक महिला लिग जितिसकेको छ । टोलीले हालै इलाम र चितवन गोल्डकपको उपाधि पनि उचालेको थियो ।
लुम्बिनी कपमा पुलिसले पहिलो खेलमा भारतको सिलिगुढी एफसीलाई ४–० ले र सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराएको थियो ।
यता, एपीएफले पहिलो खेलमा कर्णाली प्रदेश फुटबल संघलाई ६–० र सेमिफाइनलमा रौतहटलाई ३–० ले पराजित गरेर फाइनल तय गरेको हो । एपीएफकी प्रशिक्षक भगवती थापाले रौतहटविरुद्ध खेल आफ्ना लागि चुनौतीपूर्ण भए पनि फाइनलमा पुलिसको सामना गर्न तयार रहेको सुनाइन् । ‘यहाँको मौसमले पनि हामीलाई गाह्रो भएको हो । आफ्ना कमजोरी सुधारेर फाइनललाई मैदान उत्रन्छौं,’ प्रशिक्षक थापाले भनिन्, ‘कुनै पनि प्रतिस्पर्धी टिम कमजोर आँकलन गर्न सकिँदैन । तर खेल जित्नलाई नै खेलिने हो ।’
एपीएफकी कप्तान अनिता बस्नेतले पनि उपाधि जित्ने गरी खेल्ने बताइन् । ‘अघिल्लो वर्ष लगातार तीन उपाधि जितेको एपीएफमा २०८२ को पहिलो उपाधिका रूपमा लुम्बिनी कप उपाधि भित्र्याउने प्रयासमा छौं,’ अनिताले भनिन्, ‘पुलिस हाम्रा लागि नयाँ प्रतिस्पर्धी होइन । त्यसैले गोल गर्ने मौका हामी छोड्दैनौं गोल गर्ने मौका पुलिसलाई दिँदैनौं ।’
यो सिजन एपीएफ र पुलिस दोस्रो पटक फाइनलमा भिड्दै छन् । यसअघि राष्ट्रिय महिला लिगको फाइनलमा एपीएफले पुलिसलाई हराएको थियो । एपीएफले इलाम र चितवनमा भने आर्मीलाई हराउँदै उपाधि जितेको हो ।
बाँके जिल्ला फुटबल सघसँगको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगिता विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुनेछन् ।
