काठमाडौँ — लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबार सुरु भएको छ ।
पहिलो दिन पुरुष/महिलातर्फ टिम इभेन्टका खेल भए । नेपालसहित ६ राष्ट्रका ८५ खेलाडी प्रतिस्पर्धी छन् । नेपालबाट यू–१९ पुरुषमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जन तथा महिलामा इभाना थापा, वियन्का राई, योङ्गी पौडेल र दिया देउला छन् ।
यू–१५ पुरुषमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य तथा महिलामा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र शृया शाक्य छन् ।
आइतबारसम्म चल्ने प्रतियोगितामा दुई उमेर समूहमा टिम इभेन्ट, सिंगल्स, डबल्स र मिक्स डबल्समा गरी १४ स्पर्धामा खेल हुनेछ । प्रतियोगिता उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसको छनोटका रूपमा समेत रहेको आयोजक अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।
