मुम्बई इन्डियन्स तेस्रोमा 

वैशाख ११, २०८२

एजेन्सी

Mumbai Indians in third

हैदराबाद — मुम्बई इन्डियन्स लगातार चौथो जित हात पार्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । रोहित शर्माको अर्धशतकमा मुम्बईले बुधबार सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्‍यो ।

रोहितले ४६ बलमा ७० रन बनाएपछि मुम्बईले १ सय ४४ रनको लक्ष्य १५.४ ओभरमा १ सय ४६ रन बनाएर पूरा गर्‍यो । मुम्बईले ९ खेलमा १० अंक जोडेको छ । हैदराबादको भने शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । हैदराबादको ८ खेलमा ४ अंकमात्र छ ।

राजीव गान्धी रंगशालामा रोहितले ८ चौका र ३ छक्का प्रहार गरे । रायन रिकेल्टन ११ र विल ज्याक्स २२ रनमा आउट भए । सूर्यकुमार यादवले १९ बल खेल्दै ५ चौका र २ छक्कासहित ४० रन बनाए । 

हैदराबादबाट जयदेव उनडकट, इशान मालिङ्गा र जिसन अन्सारीले १–१ विकेट लिए । यसअघि हैदराबादको सुरुआत निकै दयनीय थियो । नवौं ओभरमा ३५ रन बनाउँदा टोलीले ५ विकेट गुमाइसकेको थियो । पावर प्लेको पहिलो ६ ओभरमा दीपक चाहर र ट्रेन्ट बोल्टले समान २ विकेट लिएपछि हैदराबादले ४ विकेट गुमाई २४ रनमा बनाउन सकेको थियो ।

ट्राभिस हेड शून्य, इशान किसन १, अभिषेक शर्मा ८, नितिशकुमार रेड्डी २ र अनिकेत बर्मा १२ रनमा आउट भएपछि हेनरिक क्लासेनले अभिनव मनोहरसँग पाँचौं विकेटमा ९९ रनको साझेदारी गरे । क्लासेनले ४४ बल खेलि ७१ रन बनाउनेक्रममा ९ चौका र २ छक्का प्रहार गरे । उनलाई जसप्रित बुमराहले आउट गरे ।

‘इम्प्याक्ट खेलाडी’ को रूपमा आएका मनोहरले ३७ बलमा ४३ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । अन्तिम ओभरमा बोल्टले मनोहर र प्याट कमिन्सलाई आउट गरे । बोल्टले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । चाहरले ४ ओभरमा २ रनमात्र खर्चेर २ विकेट लिए । बुमराह र कप्तान हार्दिक पाण्ड्येले १–१ विकेट लिए ।

एजेन्सी

Link copied successfully