पोखराको ‘स्वर्णिम यात्रा’

नेपाल सुपर लिगको फाइनलमा पोखरा थन्डर्सले साबिक विजेता ललितपुर सिटीको सामना गर्ने

वैशाख ११, २०८२

हिमेश

”Golden Journey” of Pokhara

काठमाडौँ — पोखरा थन्डर्स फाइनल प्रवेशका लागि पूर्णतः हकदार रह्यो । प्रतियोगिताबाटै बाहिरिने स्थितिबाट लगातार राम्रो खेल्दै पोखराले जसरी नेपाल सुपर लिग (एनएसएल) मा फाइनल प्रवेश गरेको छ, त्यसलाई ‘स्वर्णिम यात्रा’ भन्दा हुन्छ ।

पोखरा जसरी फाइनल पुगेको छ, त्यसलाई बयान गर्न उत्कृष्ट, सानदार, ऐतिहासिक र सनसनीपूर्ण जे भन्दा हुन्छ । लिग चरणमै सुरुका दुई खेल गुमाएको पोखरा त्यसपछि ६ खेलमा अपराजित छ । यसबीच एक गोलमात्र खाएको छ । 

धनगढी एफसी भने फाइनल प्रवेशलाई पूर्णतः अयोग्य रह्यो । आखिरमा जुन टिमले लगातार तीन खेल गुमाउँछ, त्यो कसरी अगाडि बढ्न सक्छ र ? दशरथ रंगशालामा बुधबार भएको क्वालिफायर–टुको नतिजापछि फाइनल समीकरण तय भएको छ । अब शनिबार हुने उपाधि भिडन्तमा पोखराले डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीको सामना गर्नेछ । पोखरा एनएसएलको तीन सिजनमा फाइनल पुगेको यो पहिलो पटक हो । 

क्वालिफायर–टु खेल आफैंमा मज्जाको रहेन । यो खेलले कुनै प्रकारको रौनकता दिन सकेन । यस्तै खेल हो, जसको नतिजा एउटा खास क्षणले दिने गर्छ, जुन आफैंमा उच्च पनि हुन्न । प्रतिस्पर्धा अतिरिक्त समयतर्फ अग्रसर भइरहेको बेला पोखराले इन्ज्युरी समयको तेस्रो मिनेटमा कर्नर पाएको थियो । आयुष घलानको कर्नरलाई धनगढीको पोस्ट नजिक रहेका स्टेफन समीर विनोङले हेड गरे । त्यसले एक ‘बाउन्स’ लिँदै पोस्टको दिशा लियो र पूरा खेलको कथा त्यही टुंगियो । 

‘हाम्रो टिमले आफ्नो प्रदर्शनमा लगातार सुधार ल्याएको छ र हामी फाइनल पुगेका छौं,’ पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फेरि एकपल्ट पुरानै कुरा दोहोर्‍याएर थपे, ‘यसका लागि टिम व्यवस्थापनलाई धन्यवाद दिनुपर्छ ।’ उनले आफ्नो टिमको यात्रामा भाग्यको पनि ठूलो हात रहेको माने । यसमा उनको तर्क थियो, ‘टिमले राम्रो खेल्यो भने त भाग्यले साथ दिने हो ।’ हुन पनि यसपल्ट पनि पोखराले खेल जित्दा १० खेलाडीमा सीमित हुनुपरेको थियो । 

दोस्रो पहेँलो कार्डमा गौरव श्रेष्ठ निकै निराश हुँदै मैदान छाड्न बाध्य रहे । समय थियो, ८४ औं मिनेट । तर, यो स्थितिमा धनगढीले फाइदा लिन सकेन, उल्टै दबाबमा रह्यो । ‘खेलको अन्त्यतिर हामी १० खेलाडीमा खेलिरहे जस्तो थियो, उनीहरू भने ११ खेलाडीमा खेले जस्तो,’ धनगढीका कप्तान देवेन्द्र तामाङले भने । उनले प्रतियोगितामा राम्रो सुरुआतका बावजुत धनगढी फाइनल पुग्न नसकेको एउटा कारण बताए, बढी नै आत्मविश्वास । अझ त्यसलाई घमण्डभन्दा पनि हुनेछ । 

स्पेनी प्रशिक्षक हुँवा म्यानुयल मार्टिनेजले धनगढीका सबै पक्ष राम्रो रहेको, तर यही टिम बाहिरिएकोमा दुःख पोखे । उनको तर्क थियो, ‘फुटबलमा यस्तो हुन्छ । पोखराले गोल गरेपछि हामीलाई खेलमा फर्कने अवसर नै रहेन ।’ धनगढीका प्रशिक्षकका रूपमा उनले जति समय बिताए, त्यो आफ्नो लागि सधैं सम्झनलायक रहने बताए । उनले थपे, ‘फाइनल पुगेकोमा पोखरालाई बधाई । साँच्चै यो टिम झन झन राम्रो हुँदै गएको छ । म भने नेपाल र नेपाली फुटबललाई मनभित्र समेट्दै बिदा हुँदै छु ।’ 

एनएसएलका अतिथिको रुपमा नेपाल आएका ब्राजिली सुपर स्टार रोबर्टो कार्लोसले खेलको मध्यान्तरमा आफ्नो ट्रेडमार्क फ्रिकिक प्रहार गर्दै समर्थकलाई उत्साह भरेका थिए ।

हिमेश

Link copied successfully