चमत्कारी गोलकर्ता कार्लोस आज आउँदै

काठमाडौं बसाइमा उनले नेपाली समर्थकलाई भेट्ने छन्

वैशाख ९, २०८२

हिमेश

Miracle goalscorer Carlos arriving today

काठमाडौँ — ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै छन् । तय छ, उनको आगमनसँगै नेपाली फुटबल प्रशंसकहरू उत्साहित हुनेछन् । अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को मौका छोपेर उनी नेपाल आउन लागेका हुन् । विश्व खेलकुदका ठूला नाममध्ये उनी नेपाल आउनेमा एकमा पर्नेछन् ।

काठमाडौं बसाइका क्रममा उनले नेपाली समर्थकलाई भेट्ने छन् भने दशरथ रंगशालामा हुने एनएसएलको क्वालिफायर–टु पनि हेर्नेछन् । कार्लोस अहिले ५२ वर्षका भए । सन् २०१६ तिर उनले व्यावसायिक फुटबल खेल्न छाडेका थिए । तर, उनको चर्चा अहिलेसम्म पनि अटुट छ, किनभने उनलाई विश्व फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छ ।

विश्व फुटबलमा अगाडि खेलेर गोल गर्नेको बढी चर्चा हुने गर्छ । तर कार्लोस त्यस्ता खेलाडी पनि होइनन् । उनी त रक्षापंक्तिका खलाडी हुन् । अझ ठ्याक्कैभन्दा ‘फुलब्याक’ । उनको खेल विशेषता भनेकै रक्षात्मक खेलाडी रहेर पनि अत्यधिक आक्रामक रहनु हो ।

उनी शक्तिशाली प्रहारका लागि माहिर छन् । फ्रिकिकमा अचुक निसाना लगाउनु उनको विशेषता थियो । उनले तीन विश्वकप खेले । त्यसमध्ये सन् १९९८ मा ब्राजिल फाइनल पुगेको थियो र उपविजेतामै सीमित रह्यो । सन् २००२ मा एसियामा भएको पहिलो विश्वकपमा भने उनीसम्मिलित ब्राजिल च्याम्पियन भएको थियो । उनलाई बढी चिनिने भनेको रियल म्याड्रिड खेलाडीका रूपमा हो, जहाँ उनले १२ वर्षजति बिताए ।

उनले अर्को युरोपेली क्लब इन्टर मिलानबाट पनि खेले । ब्राजिली राष्ट्रिय टोलीका लागि १ सय २५ पल्ट खेलेर १० गोल गरेका छन् । त्यसमध्ये एक गोलका लागि भने उनलाई सधैं सम्झिने गरिन्छ । अझ विश्व फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट, अविश्वसनीय र कहिले पनि चर्चाबाट टाढा नहुने गोलका लागि कार्लोस प्रसिद्ध छन् । यसका लागि सन् १९९७ फर्किनुपर्छ, जतिबेला फ्रान्समा हुन लागेको विश्वकपका लागि तयारी चलिरहेको थियो ।

त्यसै क्रममा फ्रान्स र ब्राजिलबीच एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भएको थियो । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो र त्यसमै उनले अहिलेसम्मकै रहस्यमय गोल गरेका थिए । त्यसका लागि हामी फर्किनुपर्ने हुन्छ, जुन ३ को दिन । त्यो यस्तो गोल थियो, जसले विज्ञानलाई पनि चुनौती दिएको थियो । खेलले २१ मिनेट छुँदा उनले ३० यार्ड जतिको दूरीबाट फ्रिकिक प्रहार गरेका थिए ।

त्यति बेला फ्रान्सेली गोलरक्षक थिए, फाबियन बार्थेज । कार्लोसको शक्तिशाली बायाँ खुट्टाको मदतमा गरिएको प्रहार सुरुमा आफ्नो गन्तव्यबाट टाढा दायाँतर्फ जाने देखिएको थियो । तर एकाएक त्यसले आफ्नो बाटो फेर्‍यो र बायाँ लाग्यो । बलले अन्ततः पोस्टको जाली चुम्यो र प्रतिद्वन्द्वी गोलरक्षक बार्थेज आफ्नो ठाउँबाट फिटिक्क पनि चलेनन् । यही गोललाई लिएर कार्लोससँग सोधिँदा उनको प्रायः उत्तर हुने गर्छ, यो ‘चमत्कारी गोल’ हो । अर्थात बलले जसरी आफ्नो दूरी तय गर्‍यो र घुमाउरो बाटो तय गर्‍यो, त्यो चमत्कार मात्रै थियो ।

यो गोलपछि वैज्ञानिकहरूले यसबारे रुचि राखेर अनुसन्धान गरे र आ–आफ्नो तर्क प्रस्तुत गरेका छन् । कोही भन्छन्, यो कुनै ‘फ्लुक’ गोल थिएन, प्रहार आफैंमा उत्कृष्ट थियो । कोही भन्छन्, यो गोलका लागि भौतिक विज्ञानको सिद्धान्त बुझ्नुपर्ने हुन्छ । र, यो हो ‘म्यागनस’ प्रभाव । त्यसअनुसार जतिबेला बललाई विशेष तरिकाले प्रहार गरिन्छ, त्यतिबेला यो घुम्ने गर्छ । बलले यात्रा गर्दा यसको तल–माथिको हावाको दबाब फरक हुन्छ । यस्तोमा बलले घुमाउने बाटो तय गर्ने गर्छ ।

कार्लोसको प्रहारले पनि ‘म्यागनस’ प्रभावकै कारण घुमाउने बाटो तय गरेको हो । फुटबलको भाषामा यसलाई ‘बनाना–किक’ पनि भनिन्छ । केहीले भने सजिलो भाषामा भन्दा जतिबेला कार्लोसले प्रहार गरे, सुरुमा त्यसले एउटा दिशा लिएको थियो । पछि बल हावासँग ठोक्किएपछि त्यसले अर्को बाटो लिएको हो ।

तय छ, जतिबेला कार्लोस काठमाडौंमा रहनेछन्, उनलाई यो प्रश्नले पक्कै छोड्ने छैन । साँच्चै, त्यो दिन उनले कसरी त्यो गोल गरेका थिए ?

हिमेश

Link copied successfully