काठमाडौँ — सातदोबाटोस्थित सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल चलिरहेको छ । त्यसैको प्रतिस्पर्धी टोली सरस्वती युवा क्लबले आफ्ना एक खेलाडीमाथि फुटबलको सर्वोच्च निकाय एन्फाले अन्याय गरेको आरोप लगाएको छ ।
सरस्वतीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना स्ट्राइकर धिरेन्द्रबहादुर शाहलाई बदनियतपूर्वक कारबाही गरिएको जनाएको छ । सरस्वतीले सुरुमा बाँसबारीविरुद्ध २–१ र नयाँबस्तीविरुद्ध १–० ले जित पाएको थियो । दुवै खेलमा धिरेन्द्रले गोल गरेका थिए ।
नयाँबस्तीले दायर गरेको प्रोटेस्टमा एन्फाले कारबाही गर्दै धिरेन्द्रलाई निलम्बन गरेको छ । उनलाई एन्फाले निलम्बन गर्नुको कारण पूर्वक्लब श्री टुसाल युथसँगको सम्झौतालाई आधार मानेको छ । २२ वर्षीय खेलाडी धिरेन्द्रलाई निलम्बन मात्र गरिएन, सरस्वतीको पक्षबाट १–० को नतिजा उल्टाएर नयाँबस्तीलाई ३–० ले जिताइएको छ ।
सरस्वती युवा क्लबका अध्यक्ष उत्तमराज भण्डारीले उक्त निर्णयको कडा आलोचना गर्दै एउटा प्रतिभावान खेलाडीको भविष्यमाथि खेलवाड गरिएको बताएका छन् ।
‘एन्फाले तथ्यमा टेकेर छानबिन नगरी यो निर्णय गरिएको हो । यो एक होनहार खेलाडीको करियरमाथि गम्भीर धक्का हो । यो राजनीतिक रूपमा प्रेरित छ,’ अध्यक्ष भण्डारीले सोमबार पत्रकार सम्मेलनमा भने ।
पत्रकार सम्मेलनमा उपलब्ध गराइएको कागजातअनुसार धिरेन्द्रको टुसालसँगको सम्झौता २०७८ चैत १२ सम्म थियो । त्यो वर्ष लिग नै भएन । सम्झौता बढीमा २०८० को चैतसम्म थियो । सम्झौतामा उल्लेख गरिएको पहिलो किस्तावापत्को २० प्रतिशत रकम पनि टुसालले खेलाडीलाई नदिइएको हुँदा सम्झौता स्वतः बदर भएको सरस्वतीको दाबी छ । धिरेन्द्रले जारी सिजनअगावै सरस्वतीसँग नयाँ सम्झौता गरेका थिए ।
खेलाडी धिरेन्द्रले निलम्बनले आफूमा चरम निराशा छाएको बताए । उनले भने, ‘मैले टुसालसँग ‘रिलिज लेटर’ मागेको थिएँ, तर उनीहरूले त्यसलाई अस्वीकार गरे । मेरो करियरप्रति खेलवाड गरियो ।’
अध्यक्ष भण्डारीले एन्फाको खेलाडी दर्ता प्रक्रियामाथि पनि प्रश्न उठाए । एन्फाले क्लबहरूलाई सिजनअघि अनुबन्धित खेलाडीको सूची पेस गर्न भनेको थियो । टुसालले धिरेन्द्रलाई आफ्नो सूचीमै समावेश गरेको छैन । उनी सरस्वतीबाट मात्र दर्ता भएका छन् । फिफा कनेक्ट एपमार्फत यसलाई एन्फाले स्वीकृत गरेको छ । तर टुसालबाट अनुबन्धित खेलाडी भनेर अहिले हालेको उजुरीमा निलम्बन गर्न नपाइने सरस्वतीको जिकिर छ ।
खेलाडी दर्ता प्रक्रियामा जानुको सट्टा एन्फामा पत्र दर्ता गराएर टुसालले खेलाडी दर्ता रोक्का गरिपाउँ भनी निस्क्रिय भएको करार सम्झौतालाई आधार मानेर एउटा खेलाडीको खेल्ने र मानवअधिकार हनन गरेको सरस्वती क्लबको आरोप छ ।
