हेटौंडा — हेटौंडामा सोमबार सम्पन्न मध्य पृतनापति ट्रफी प्रतियोगिताको उपाधि ७ नम्बर बाहिनी अड्डा चनवनले हात पारेको छ ।
वैशाख १ गतेदेखि हेटौंडाको सुपारीटार ब्यारेकको खेल मैदानमा सञ्चालित मध्यपृतना ट्रफी प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा गोरखबहादुर गण सुपारीटारले र नयाँ सवुज गण भरतपुरलाई २–१ गोलको अन्तरले पराजित गरेको थियो ।
पृतनापति प्रतियोगितामा ६ र ७ नम्बर बाहिनीको साथै शेर गण, भैरवबहादुर गण गोरखबहादुर गण र नयाँ सुवज गणका खेलाडीहरुले भाग लिएका थिए । मध्य पृतनापति ट्रफी प्रतियोगिता २०८२ को च्याम्पियन ७ नम्बर बाहिनी बन्न सफल भएको मध्य पृतनाको मुख्य कार्यालय सुपारीटारले जनाएको छ ।
पृतनापति ट्रफीका विजयी खेलाडीलाई प्रधान सेनापति ट्रफी प्रतियोगिताका लागि क्लोज क्याम्प सञ्चालन गरिने जनाइएको छ । पृतनापति ट्रफी प्रतियोगितामा भलिबल, फुटबल, बास्केट बल र एथ्लेटिक्सलगायत ८ खेलको प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताका च्याम्पियन बाहिनी, गण र खेलाडीलाई पृतनापति एवम् उपरथि हरेन्द्र पाठकले पुरस्कार वितरण गरेका थिए ।
४७१ वटा मेडल रहेको उक्त प्रतियोगितामा ३ सय महिला खेलाडीसहित ८ सय १० खेलाडी सहभागी थिए । मध्य पृतना हेटौंडाले प्रधान सेनापति ट्रफी प्रतियोगितामा पाँच पटक प्रथम हुन सफल भएको छ ।
